
यसैक्रममा आइजिपीका लागि प्रबल दाबेदार मानिएका प्रहरी नायब महानिरीक्षक (डिआइजी) अशोक सिंहले यस्तै रस्साकस्सीकै बीचबाट बाहिरिनुपरेको छ। २८ वर्ष सेवाकालमा नदेखिएको उमेर विवाद एआइजी बढुवाकै मुखमा बाहिरिँदा उनले सेवाबाटै राजीनामा दिनुपरेको हो।
जन्ममिति र शैक्षिक योग्यतामा प्रश्न उठाउँदै फागुन ३ गते अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा उनीविरुद्ध उजुरी परेको थियो। त्यसै विवादमा आफू कमजोर हुने देखिएपछि बुधबार उनले प्रहरी प्रधान कार्यालय पुगेर राजीनामा दिएका छन्।
अहिले एआइजी बढुवाका प्रतिस्पर्धीहरूले नै सिंहको यो कमजोरी बाहिर ल्याएको उनी निकट स्रोतको दाबी छ। ‘अहिले एआइजीमा बढुवा हुने र आइजिपी पनि बन्ने देखेपछि रोक्न प्रतिस्पर्धीहरूले नै उजुरी गर्न लगाएका हुन्,’ स्रोतले भन्यो, ‘यसमा आइजिपी धीरजप्रताप सिंह को पनि हात छ। उहाँसँग डिआइजी सिंह साबको पहिल्यैदेखि राम्रो सम्बन्ध थिएन। यसकारण सबै मिलेर आइजिपी हुनबाट रोक्न यस्तो गरिएको हो।’
यस्तै बाँकी प्रतिस्पर्धीहरू पनि एकअर्काका कमीकमजोरी खोज्नेदेखि शक्तिकेन्द्र रिझाउनेसम्मका गतिविधिमा लागेको स्रोत बताउँछ। ‘सबै प्रतिस्पर्धी राजनीतिक दलका नेताका घरदैलो धाइरहेका छन्। प्रभाव राख्ने अन्य शक्तिकेन्द्र कहीँ न कहीँ पुगेर धाइरहेका छन्,’ प्रहरीका उच्च अधिकारीले भने, ‘एकअर्काविरुद्ध जासुसी गर्ने÷गराउनेसम्मका गतिविधि भइरहेका छन्।’ आजको नागरिक दैनिकमा खबर छ ।

