कञ्चनपुर– कञ्चनपुरको पुनर्वास नगरपालिकाबाट १५ लाख भन्दा बढी भारतीय रुपैयाँ र गरगहनासहित सशस्त्र प्रहरीले ३ जनालाई पक्राउ गरेको छ। पुनर्वास नगरपालिका–४ कार्गिल डाँडाबाट भारतीय रुपैयाँ र गरगहनासहित ३ जनालाई पक्राउ गरेको हो।
पक्राउ पर्नेमा कैलालीको गोदावरी नगरपालिका–८ का २९ वर्षीय अम्मर भुल, ३९ वर्षीय खडकसिंह भुल र डडेल्धुराको आलिताल गाउँपालिका–४ का २४ वर्षीय बिरेन्द्र सार्की रहेका छन्।
उनीहरुको साथबाट १५ लाख २८ हजार ५ सय ८८ भारतीय रुपैयाँ, ६ सय ५५ रुपैयाँ नेपाली रुपैयाँ, सिक्रि ४ थान, पाउँजु १ जोडी, औँठी ४ थान, बाला ३ थान, टप १० थान, बटन १ थान बरामद गरिएको छ।
यसैगरी, झुम्का १ जोडी, टाउकोमा लगाउने गहना १ थान, जन्तर १ थान, घडी १ थान, मोबाइल ३ सेटलगायतका सामान बरामद गरिएको सशस्त्र प्रहरी बल ३५ नम्बर गणले जनाएको छ। थप अनुसन्धानका लागि सशस्त्र प्रहरीले उनीहरुलाई जिल्ला प्रहरी कार्यालय कञ्चनपुरको जिम्मा लगाएको छ।

