नेपाली महिलालाई बनवासा पुलमा रातभर राखेको घटना छानबिन गरियाेस: रास्वपा सुप ईन्चार्ज महता

मुख्य खवर राजनीति विशेष समाचार

कञ्चनपुर-भारतीय सुरक्षाकर्मीले रोक्दा महाकाली नदीमाथिको शारदा ब्यारेजको पुलमै नेपाली महिलाले चिसो रात गुजार्नुपरेको घटनाप्रति राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सुदूरपश्चिम प्रदेश समितिले आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

कञ्चनपुरस्थित महेन्द्रनगरका व्यापारीका लागि भारतीय सहरबाट साइकलमा सामान बोकेर जीवन निर्वाह गर्ने नेपाली महिलालाई शुक्रबार राति सामान ल्याउने क्रममा भन्सारको गेट बन्द भइसकेको भन्दै भारतीय सुरक्षाकर्मीले भारतको बनबासा जोड्ने महाकाली नदीमाथिको पुलमै रोकेको थियो। जसका कारण उनीहरू रातभर पुलकै चिसो भुइँमा सुत्नुपरेको थियो। जसको समाचार तस्बिरसहित नेपालखबरले प्रकाशन गरेको थियो।

सो घटनाप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाउँदै रास्वपा सुदूरपश्चिम प्रदेशका इन्चार्ज ज्ञानेन्द्र महताले विज्ञप्ति जारी गरेका हुन्। विज्ञप्तिमा उनले आगामी दिनमा यस्ता घटना दोहोरिन नदिन नेपाल सरकारलाई भारतीय पक्षसँग कूटनीतिक पहल गर्न आग्रह पनि गरेका छन्।

‘साइकलमा सामान बोकेर आफ्नो जीवन निर्वाह गर्दै आएका नेपाली महिलालाई  यही माघ २७ गते शुक्रबार भारतीय सुरक्षाकर्मीले भन्सारको गेट बन्द भएको भन्दै कञ्चनपुरको सीमावर्ती भारतीय सहर बनबासा जोड्ने महाकाली नदीमाथिको शारदा ब्यारेजको पुल खोल्न नमान्दा नेपाली महिलाहरूले बनबसा पुलमै चिसो रात गुजारेको घटनाप्रति राष्ट्रिय स्वतन्त्र पार्टीको गम्भीर ध्यानाकर्षण भएको छ’, विज्ञप्तिमा भनिएको छ, ‘उक्त  घटनाको सत्यतथ्य छानबिन गर्न तथा अब उपरान्त यस्ता घटना दोहरिन नदिन भारतीय पक्षसँग कूटनीतिक पहल गर्नका लागि नेपाल सरकारसँग जोडदार माग गर्दछौँ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *