आज धुमधामले अट्वारी मनाउँदै पश्चिम नेपालका थारु समुदाय, प्रदेशभर सार्वजनिक विदा, यस्ताे छ, पर्वकाे किम्बदन्ती

मुख्य खवर राजनीति विशेष समाचार

रमेश प्रसाद भट्ट/कञ्चनपुर – पश्चिम नेपालका थारु समुदायको मौलिक सांस्कृतिक, धार्मिक पर्व प्रमुख पर्वमध्येको अट्वारी पर्व पनि एक हो। आज (आइतबार) अट्वारी पर्व धुमधामका साथ मनाइँदै छ।

सुदूरपश्चिम प्रदेश सरकारले थारु समुदायको अट्वारी पर्वका लागि आइतबार प्रदेशभर सार्वजनिक बिदा समेत दिएको छ।कैलाली, कंचनपुर लगायत पश्चिम तराईका थारु समुदाय आज अट्वारी पर्बमा जुटेका छन्।

हरेक वर्ष भदौ शुक्ल पक्षको पहिलो आइतबार मनाइने यो पर्वमा थारु समुदायका पुरुषले दिदीबहिनीहरूको सुस्वास्थ्य, दीर्घायु र समृद्धिको कामना गर्दै ब्रत बस्छन्। शनिबार मध्य रातमा माछा र तोरियाको तरकारी सहित भातको दर खाएर दाजुभाईहरूले आइतबार दिनभर ब्रत बस्ने चलन थारु समुदायमा रहेको छ।

ब्रत बसेका पुरुषहरूले घरको कामकाज सकेपछि गहुँ चामल र अण्डी चामलको विभिन्न थरीका रोटी पकाउने गर्दछन्। वर्षा ऋतुमा खेतीको काममा निकै ब्यस्त रहने यो समुदायका व्यक्ति अटवारी पर्वपछि भने कामको बोझ हटेर फुर्सदको समयको उपयोग गर्दै टोलटोलमा सांस्कृतिक कार्यक्रम गरेर रमाइलो गर्ने चलन पनि छ । व्रत लिएर बेलुका पूजाको काम सकिएपछि छोरी, दिदीबहिनीका लागि छुट्याइने खानाको परिकारलाई ‘अग्रासन’ दिने भनिन्छ।

अग्रासन दिइसकेपछि यो पर्वको समापन भएको मानिन्छ । महाभारत कालमा वनबास जान बाध्य भएका पाण्डव मध्येका भीमले वनबासमा रहेको समयमा देखाएको बहादुरीको खुशियाली र स्मरणमा उनकै पूजा गरी यो पर्व मनाउने प्रचलन शुरु भएको चौधरी समुदायका अगुवा बताउँछन्।

यसका साथै दही, घ्यु, केरा, काक्रो, अम्बा आदि सगुनको रुपमा प्रयोग गरिन्छ । दिनभरीको ब्रतपछि आईतबार बेलुका सूर्य अस्ताउने बेला अन्नी पुजा गरेर अट्वारी ब्रत खोल्ने चलन छ । ब्रत खोले पनि ब्रतालुले तरकारी र नुन खुर्सानी भने खान नपाईने कञ्चनपुरकाे बेलाैरी नगरपालिका-२ दिनापुरका थारु अगुवा हरिलाल चौधरीले बताए।

उनका अनुसार अटवारी पर्वका क्रममा सोमबार बिहान खानाका विभिन्न परिकारहरू (भात, कर्कलो, तामा, गेडागुडी, पकौडी, खेरिया लगायत) तयारी गरी फलाहार गरिन्छ। आइतबारको ब्रत तोड्दा र सोमबार बिहान फलाहार गर्दा पहिलो भाग दिदीबहिनीका लागि छुट्याएर सोमबार नै दिदीबहिनीका घर पुर्‍याउने चलन रहेको अर्का थारु अगुवा बेलाैरी नगरपालिका-२ दिनापुरका पुष्कल चाैधरीले बताउनु भयाे ।

उनले भने “किंवदन्ती अनुसार पाण्डवका माहिला भाई भिमले थारु राजा दंगीशरणलाई युद्धमा सहयोग गरेको कारण उनको लागि पुजाव्रत गर्ने गरेको पनि विश्वास गरिन्छ।”

माहिला पाण्डव भिम सुर्खेतको काक्रेबिहार घुम्न आएको बेला दाङका राजामाथि शत्रुबाट आक्रमण भएपछि उतिखेर रोटी पकाउँदै गरेका भिमले काम छोडेर भोकभोकै दंगीशरणलाई सहयोग गरेको र उनको सहयोगमा राजा दंगिशरणले शत्रुमाथि विजय प्राप्त गरेका थिए भन्ने किंबदन्ती छ।

प्रचलन अनुसार अट्वारीमा विभिन्‍न थरीका रोटी पकाउने क्रममा एउटा ठूलो साइजको रोटी पकाइने गरिन्छ। यो रोटीलाई भिम रोटी भनिन्छ। भीमले रोटी पकाउँदा पकाउदै लडाईमा गएकाले त्यो रोटी एकातर्फबाट मात्रै पाकेको थियो। अट्वारीमा पकाइने भीम रोटी पनि एकातर्फमात्र पकाइन्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *