स्थानीय तह चुनाव : एमालेमा उम्मेदवार छान्न ६ मापदण्ड

मुख्य खवर राजनीति विशेष समाचार

काठमाण्डाै – नेकपा एमालेले स्थानीय तह चुनावमा उम्मेदवार छनाेट गर्न ६ वटा मापदण्ड तय गरेको छ । आज बिहीवार सम्पन्न पार्टीकाे केन्द्रीय कमिटीको तेस्रो पूर्ण बैठकले आउँदाे वैशाख ३० गते हुने स्थानीय तह चुनावका लागि उम्मेदवार छनाेट गर्न ६ वटा मापदण्ड तय गरेको हो ।

स्थानीय तह उम्मेदवारका लागि पार्टी नीति र कार्यक्रमप्रतिको प्रतिबद्धता, निर्वाचित जनप्रतिनिधिको कामको मूल्याङ्कन, लोकप्रियता र विजयको सुनिश्चितता, आन्दोलनमा योगदान र पार्टीप्रतिको निष्ठा, कार्यक्षमता, विकास र सुशासनप्रतिको दृष्टिकोण, सन्तुलन र समावेशितालाई ध्यानमा राख्दै उम्मेदवार चयन गर्ने निर्णय गरिएको पार्टीका प्रचार विभाग उपप्रमुख विष्णु रिजालले बताउनुभयो ।

त्यस्तै उम्मेदवार सिफारिस गर्नका लागि वडाध्यक्षको हकमा वडा कमिटीको सिफारिस, नगर वा गाउँ कमिटीको सिफारिस र जिल्ला कमिटीले निर्णय गर्ने रिजालकाे भनाइ छ ।

गाउँपालिकाको अध्यक्ष/उपाध्यक्ष तथा नगरपालिकाको प्रमुख/उपप्रमुखको हकमा गाउँ/नगर कमिटीको सिफारिस र जिल्ला कमिटीको सिफारिसको आधारमा प्रदेश कमिटीबाट निर्णय गर्ने र उपमहानगर/ महानगर कमिटीको हकमा सम्बन्धित कमिटीहरूको सिफारिस र जिल्ला र प्रदेश कमिटीको सिफारिसमा केन्द्रीय कमिटीले निर्णय गर्ने गरी केन्द्रीय कमिटी बैठकबाट टुङ्ग्याइएको उहाँले जानकारी दिनुभयो ।

बैठकले स्थानीय तह चुनावकाे घोषणापत्रको तयारीका लागि पार्टीका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलको संयोजकत्वमा कार्यदल गठन गरेको छ ।

कार्यदल सदस्यहरूमा उपाध्यक्ष युवराज ज्ञवाली, उपमहासचिव प्रदीप ज्ञवाली, उपमहासचिव विष्णु रिमाल, पोलिटब्युराे सदस्य देवेन्द्र दाहाल, मधेस प्रदेशका सहइन्चार्ज प्रभु शाह, पार्टीका बुद्धिजीवी परिषद् इन्चार्ज मनोजजंग थापा, नीति अनुसन्धान प्रतिष्ठानका सदस्य डा. युवराज खतिवडा, स्थानीय विकास विभागका उपप्रमुख प्रभा बराल, नेपाल बुद्धिजीवी परिषद्का अध्यक्ष डा. दिनेशचन्द्र देवकोटा र इन्जिनियर सुशिल ज्ञवाली विज्ञका रूपमा रहनुभएको प्रचार विभाग उपप्रमुख रिजालले जानकारी दिनुभयो ।

उहाँले स्थानीय तह निर्वाचन घोषणापत्र २०७९ वैशाख ९ गते पार्टीले केन्द्रीय तहबाट जारी गर्ने र स्थानीयस्तरमा पनि आ–आफ्नो आवश्यकताअनुसार प्रतिबद्धतापत्र जारी गरिने बताउनुभयो । अध्यक्ष केपी शर्मा ओलीले चैत १६ गते सात सय ५३ वटै पालिकाका पार्टी प्रतिनिधिसँग भर्चुअल संवाद गर्नुहुने जानकारी पनि उहाँले दिनुभयो ।

केन्द्रीय कमिटी बैठकले पार्टीको वार्षिक पात्रो पनि पारित गरेको छ । त्यही पात्रोको आधारमा पार्टी पङ्क्ति परिचालित हुने एमालेले जनाएको छ ।

सबै केन्द्रीय नेताहरूलाई भूगोलमा केन्द्रित हुन पार्टीले निर्देशन दिएको उपप्रमुख रिजालले बताउनुभयो । बैठकले केन्द्रीय लेखा तथा आर्थिक व्यवस्थापन विनियम पारित गरेको छ । यस्तै पार्टीका २९ वटा विभाग जिल्ला तहमा गठन गर्न सकिने पनि निर्णय भएको छ ।

यसैबीच पार्टी परित्याग गरी एमाले प्रवेश गर्नेहरूको व्यवस्थापनका लागि केन्द्रीय सङ्गठन विभागले अभिलेख बनाइरहेको र जिम्मेवारी दिनका लागि केन्द्रीय सचिवालयलाई अधिकार प्रत्यायोजन गरिएको जनाइएको छ । प्रचार विभाग उपप्रमुख रिजालका अनुसार चैतसम्म कम्तीमा एक महिलासहित तीन जना व्यक्तिलाई उम्मेवारको रूपमा सिफारिस गर्न निर्देशन दिइएको छ ।

त्यसैगरी रिटर्नी फेडरेशन नेपालको इन्चार्ज डा. सूर्य पाठक र नेपाल उद्योग तथा व्यवसाय महासङ्घको इन्चार्ज भानुभक्त ढकाललाई तोकिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *