एकीकृत समाजवादीका १४ सांसदको वैधानिकतासम्बन्धी मुद्दामा चैत २० गते पूर्ण सुनुवाइ हुने

मुख्य खवर राजनीति विशेष समाचार

काठमाण्डाै – नेकपा एकीकृत समाजवादी पार्टीका १४ सांसदको वैधानिकतासम्बन्धी मुद्दामा सर्वोच्च अदालतले चैत २० गते पूर्ण सुनुवाइ गर्ने भएको छ ।

मुद्दाको लिखित जवाफ आइसकेको भन्दै सर्वोच्चका न्यायाधीश ईश्वर खतिवडा र कुमार रेग्मीको संयुक्त इजलासले चैत २० गते मुद्दाको पूर्ण तथा अन्तिम सुनुवाइका लागि आदेश दिएको हो ।

‘यसमा लिखित जवाफ परिसकेको देखिएको र निवेदकबाट उठाइएका संवैधानिक तथा कानुनी प्रश्नहरूको निरूपण छिटोछरितो रूपमा पूर्ण सुनुवाइको सन्दर्भमा हुनु मनासिव देखिएको हुँदा चैत २० गते आइतवारकाे पेसी तोकी पूर्ण सुनुवाइका लागि नियमअनुसार गरी पेस गर्नू’, आदेशमा भनिएको छ ।

पार्टीभित्र विवाद बढ्दै गएपछि नेकपा एमालेले माधवकुमार नेपालसहित १४ जनालाई सांसदबाट निष्कासन गरेको थियो तर सभामुख अग्निप्रसाद सापकोटाले कारबाहीको सूचना टाँस नगरेको र निर्वाचन आयोगले पनि एमालेले हटाएका सांसदलाई मान्यता दिएर नयाँ दल दर्ता गरेको भन्दै उसले सर्वोच्चमा मुद्दा दिएको थियो ।

यस्तै लुम्बिनीका सांसदहरू विमला खत्री वली र अजय शाहीमाथि एमालेले गरेको कारबाहीअनुसार सूचना टाँस गरिनुपर्ने लगायतका विषयको मुद्दा पनि सर्वोच्चमा रहेको छ ।

कारबाही गरेर सांसद पदबाट निष्कासन गरेका १४ जनालाई पदमुक्त नगरेको भन्दै एमालेले गएको भदौदेखि संसद् अवरोध गर्दै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *