काठमाडौं । नेकपा एमालेको १०औँ राष्ट्रिय महाधिवेशन सुरु भएको छ । नारायणगढस्थित नारायणी नदी किनारमा पार्टीका अध्यक्ष केपी शर्मा ओलीले महाधिवेशनको उद्घाटन गरेका हुन् ।
महाधिवेशनमा प्रधानमन्त्री शेरबहादुर देउवासहित विभिन्न राजनीतिक दलका प्रमुख एवं प्रतिनिधि र विदेशका विभिन्न पार्टीका प्रतिनिधिको समेत उपस्थिति रहेको छ ।

नारायणी नदीको किनारलाई आकर्षक डोभ आकारको स्टेजमा कार्यक्रम सुरु भएको हो । महाधिवेशन उद्घाटनपूर्व स्टेजमा सांस्कृतिक कार्यक्रम र सडकमा झाँकीसहितका ¥याली निकालिएको थियो ।
नदी किनारमा नअटेपछि ठाउँठाउँमा राखिएका डिस्प्ले बोर्ड हेरेर प्रतिनिधि र परिवेक्षकसहित एमालेका नेता कार्यकर्ताले महाधिवेशन हेरी रहेका छन् । महाधिवेशनको सञ्चार माध्यम र सामाजिक सञ्जालबाट प्रत्यक्ष प्रसारणसमेत गरिएका छन् ।
उद्घाटन सत्र हुने स्थल नारायणगढ र भरतपुर क्षेत्रमा एमालेको चुनाव चिह्न सूर्य र कम्युनिष्ट पार्टीको हसिया हथौडा अङ्कित झण्डा र ब्यानर सझाएर बजारलाई झकिझकाउ र सुन्दर बनाइएको छ ।

यससँगै ५० ठाउँमा आकर्षक स्वागतद्वार बनाइएको छ । उद्घाटन सत्रलाई व्यवस्थित गर्न कार्यक्रमस्थल र बाहिर पाँच हजार स्वयंसेवक परिचालन गरिएको छ ।
पार्टीका प्रचार विभाग प्रमुख योगेश भट्टराईले उद्घाटन सभामा देशभरबाट पाँच लाखभन्दा बढी एमाले नेता कार्यकर्ता सहभागी हुने बताएका थिए । ठूलो सङ्ख्यामा मानिसको उपस्थिति हुने भएकाले १३ स्थानमा गाडी पार्किङस्थल बनाइएको छ ।

मालबाहक सवारी साधनलाई रोकेर अत्यावश्यक र यात्रुबाहक सवारी साधनलाई भने गन्तव्यतर्फ पठाउन वैकल्पिक मार्गसहितको व्यवस्थापन गरिएको छ ।महाधिवेशनमा दुई हजार १७५ प्रतिनिधि र १०३ जना परिवेक्षक सहभागी हुने छन् ।
प्रतिनिधि भूगोल, जनसङ्गठन, विभाग र सम्पर्क कमिटी र प्रवासबाट सहभागी हुँदै छन् । उनका अनुसार प्रतिनिधिमध्ये पाँच प्रतिशत अर्थात् १०६ जना मनोनीत गरिएका हुन् ।

