एमाले महाधिवेशन प्रतिनिधिको संख्या झण्डै २ हजार

मुख्य खवर राजनीति विशेष समाचार

काठमाडौं – नेकपा एमालेले पार्टीको १० औं राष्ट्रिय महाधिवेशनमा सहभागी हुने प्रतिनिधिहरूको संख्यामा वृद्धि गर्ने निर्णय गरेको छ।  ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठान भवनमा शुक्रबार बसेको पार्टी केन्द्रीय कमिटी बैठकले महाधिवेशनमा सहभागी हुने प्रतिनिधिहरूको संख्या बढाएर एक हजार ९ सय ९९ पुर्‍याउने निर्णय गरेको हो।

पार्टीका केन्द्रीय सदस्यहरूले प्रतिनिधि संख्या बढाउने प्रस्ताव गरेपछि करिव चार सय थप गर्ने निर्णय गरिएको पार्टीका प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिए। बैठकले आगामी कात्तिक २७ गते देशभर एकैसाथ प्रतिनिधि चयनका लागि निर्वाचन गर्ने कार्यक्रम पनि तय गरेको छ।

त्यसैगरी बैठकले महाधिवेशन मूल व्यवस्थापन समितिमा दुई सदस्य थप गरेर २३ सदस्य पुर्‍याउने निर्णय पनि गरेको छ। पार्टी स्थायी कमिटीका सदस्य रघुजी पन्त र कार्यालय सचिव शेरबहादुर तामाङलाई पनि महाधिवेशन मूल व्यवस्थापन समितिमा थप गर्ने निर्णय गरिएको प्रवक्ता ज्ञवालीले बताए।

एमालेले महाधिवेशनमा प्रयोग गर्ने विद्युतीय मतदान मेसिनको पनि परीक्षण गरेको छ। सो मेसिनको परीक्षण गर्दै बैठकले त्यसलाई महाधिवेशनमा प्रयोग गर्ने निर्णय पनि गरेको हो।

बैठकले पार्टीको अर्काे केन्द्रीय कमिटी बैठक आगामी मंसिर ९ गते महाधिवेशनको अघिल्लो दिन चितवनको सौराहमा गर्ने निर्णय पनि गरेको एमालेले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *