सुदूरपश्चिममा भयावह बन्दै आत्महत्या, यस्ता छन् बढ्ने कारण

मुख्य खवर राजनीति समाचार

धनगढी : सुदूरपश्चिम प्रदेशमा आत्महत्याले भयावह रुप लिँदै गएको छ। प्रदेशमा वर्षेनी आत्महत्या गर्नेको संख्या बढ्दै गएको छ।  गत ५ वर्षको तथ्यांक हेर्ने हो भने प्रदेशका सबै जिल्लामा आत्महत्या गर्नेको संख्या बढेको देखिएको छ।

मानसिक समस्या, घरेलु हिंसा, गरिबी, अनैतिक सम्बन्ध र त्यसले ल्याउने निराशाका कारण आत्महत्या हुने गरेको प्रहरी बताउँछ। पछिल्ला ५ वर्षमा सुदूरपश्चिमका ९ जिल्लामा २ हजार ६ सय ४५ जनाले आत्महत्या गरेको विवरण प्रहरीले दिएको छ। यो तथ्यांकले प्रदेशमा औसतमा दैनिक २ जनाले देहत्याग गरेको देखाउँछ।

५ वर्षको तथ्यांक

गत आव ०७७/७८ मा मात्रै सुदूरपश्चिममा ६ सय ८२ जनाले आत्महत्या गरेका छन्। यसैगरी आव ०७६/७७ मा ५ सय ३९ जनाले आत्महत्या गरेका छन्।

आव ०७३/७४ मा भने सबैभन्दा कम ४ सय ३२ जनाले आत्महत्या गरेको तथ्यांक छ। आव ०७५/७६ मा ४ सय ९० ले र ०७४/७५ मा ४ सय ९९ सय जनाले आत्महत्या गरेको प्रहरी अभिलेख छ।

यस्ता छन् आत्महत्याका कारण

आत्महत्या गर्नुको पछाडि मानसिक समस्या नै भएको धनगढीका मनोचिकित्सक डाक्टर प्रभात सापकोटाले बताए।

‘विभिन्न अध्ययनले देखाएअनुसार ६० देखि ९० प्रतिशत आत्महत्याको कारण मानसिक रोग हुन्छ,’ उनले भने, ‘पूरै त नियन्त्रण गर्न निकै चुनौतिपूर्ण छ। तर मानसिक स्वास्थ्यको ख्याल राख्यौं भने धेरै हदसम्म नियन्त्रण गर्न सकिन्छ।’

आत्महत्या बढ्नुमा व्यक्ति मानसिक रुपले विक्षिप्त हुनु नै प्रमुख रहेको जिल्ला प्रहरी कार्यालय कैलाली प्रमुख प्रहरी उपरीक्षक (एसपी) विश्व अधिकारीको बुझाइ छ।

‘एक सेकेण्डको निर्णयले मानिस आत्महत्या गर्न पुग्छ। तर, हामीले हेर्दा आत्महत्याको प्रमुख कारण मानसिक विक्षिप्तताको अवस्था हो,’ उनले भने, ‘कतिपय आत्महत्या आवेशमा गरिएको देखिन्छ भने कतिपय नशासेवन गरेको अवस्थामा गरेको देखिन्छ। कतिपय सम्बन्ध तथा आर्थिक कारणले भएको देखिन्छ।’

सबै जिल्लामा बढ्दो

कैलालीमा सबैभन्दा बढी २ सय ६१ जनाले एक वर्षमै देह त्यागेका छन्। यस्तै कञ्चनपुरमा १ सय ९५, अछाममा ४४, बैतडी र डडेल्धुरामा ४३/४३ जनाले आत्महत्या गरेका छन्। बझाङमा ३६, डोटीमा २३, दार्चुलामा २२ र बाजुरामा १५ जनाले गत वर्ष आत्महत्या गरेका छन्।

रोक्ने उपाय

चिकित्सकले मानसिक समस्याको समयमै उपचार गर्न सके आत्महत्यामा कमी आउने बताएका छन्।सामान्यतया मानसिक समस्याका लक्षण देखिनासाथ बिरामीलाई उचित मानसिक परामर्श र उपचार दिनुपर्ने उनीहरू सुझाव दिन्छन्।

मानसिक विचलन आए परिवारले मानसिक उपचार तथा परामर्शका लागि मनोचिकित्सककहाँ लैजान सुझाउँछन् उनीहरू।कतिपय भने कारणबारे अध्ययन गरी नियन्त्रण प्रयास नगरिँदा पनि आत्महत्या रोक्न कठिन भएको बताउँछन्।

                                                                                                                                                                   साभार: थाहा खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *