रुपन्देही – नेकपा एमालेका उपमहासचिव विष्णुप्रसाद पौडेलले अमेरिकी सहयाेग मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) काे विषयमा पार्टीमा कुनै मतभेद नरहेको बताउनुभएको छ । सरकारले एमसीसीको प्रस्ताव संसदमा पेस गर्नासाथ एमालेले आफ्नो धारणा स्पष्ट पार्ने उहाँले बताउनुभयो ।
प्रेस चौतारी नेपाल रुपन्देहीले आज बुधवार बुटवलमा आयोजना गरेको पत्रकार सम्मेलनमा उपमहासचिव पौडेलले एमालेले देशकाे हितलाई केन्द्रमा राखेर र नागरिककाे चाहनाअनुसार निर्णय गर्ने बताउनुभयो ।
एमसीसीकाे विषयमा सत्ता गठबन्धनका सहभागी दल नै एकमत नरहेको उहाँको भनाइ थियो । एमाले विभाजन नभइ सर्पले झैँ काँचुली मात्र फेरेर पार्टीमा नयाँ जीवनको सुरुवात भएको पौडेलले सुनाउनुभयो ।
पार्टी विभाजन विचार र दर्शनका आधारमा नभइ लोभ तथा अवसरका लागि भएको पौडेलले आरोप लगाउनुभयो । सरकारले एमाले विभाजनका लागि ल्याएको अध्यादेश कुनै पनि हालतमा संसद्बाट पारित हुन नसक्ने उहाँको भनाइ थियो ।
पार्टीको लुम्बिनी प्रदेशको बैठकका निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा नेता पौडेलले लुम्बिनी प्रदेशमा पार्टी विभाजनको कुनै असर नपरेको बताउनुभयो । प्रदेश कमिटी बैठकले पार्टी एकीकरणका लागि कार्यदलले तयार गरेको १० बुँदे सम्झौतालाई सकारात्मक रूपमा लिएर रचनात्मक रूपमा कार्यान्वयन गर्ने निर्णय गरेको छ ।

