देउवाकाे दाबी : ओलीले आफ्नाे पक्षमा निर्णय गराउन अदालतलाई धम्की दिइरहेका छन्

राजनीति समाचार

काठमाण्डाै – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो पक्षमा निर्णय गराउनका लागि अदालतलाई धम्की दिइरहेको दाबी गर्नुभएकाे छ । विपक्षी गठबन्धनले गरेकाे नागरिक आन्दोलनका अगुवा, लेखक तथा बुद्धिजीवीसँग बुधवार गरेको अन्तरक्रियामा बाेल्दै सभापति देउवाले यस्ताे दाबी गर्नुभएकाे हाे ।

कार्यकारी शक्ति भनेको जहिले पनि तानाशाही प्रवृत्तिको हुने भए पनि न्यायालय सधैँ संविधानअनुसार चल्ने भएकाले न्यायाधीशहरू प्रधानमन्त्रीको धम्कीबाट डराउने छैनन् भन्ने विश्वास आफूले लिएको बताउनुभयो ।

उहाँले भन्नुभयो, उहाँ (प्रधानमन्त्री) ले अदालतमा धम्की दिइरहनुभएको छ । न्यायाधीशहरूले प्रधानमन्त्रीको धम्कीमा जाने हो भने के होला देश ? कहाँबाट न्यायालय टिक्ला त ? कार्यकारीले सत्ताको दुरुपयोग गर्न सक्दछ । कार्यकारी पावर भनेको जहिले पनि तानाशाही प्रवृत्तिको हुन्छ । संसद् पनि कहिलेकाहीँ ठप्प गरिदिन सक्छ बहुमतको आधारमा । तर एउटा मात्रै संस्था छ जो न्याय गर्छ । त्यो हो न्यायालय । त्यसकारण स्वतन्त्र न्यायालय भनेको त्यो हो । त्यो मात्रै स्वतन्त्र न्यायालय हो ।

प्रधानमन्त्रीको केही लाग्दैन यहाँ । कति वटा प्रधानमन्त्रीको केही लागेन नि यहाँ । हामीलाई विश्वास छ ओलीको धम्कीबाट कुनै पनि न्यायाधीशहरू डराउनु हुने छैन । सम्पूर्ण देश, राष्ट्र संविधान बचाउने पछाडि छ । संविधानले दिएको कुरा गरेको हो हामीले । न्यायाधीशलाई डराउने, तर्साउने काम छैन । विवेकपूर्ण न्यायका लागि हामीले अनुरोध गर्ने हो ।

विपक्षी गठबन्धनले प्रधानमन्त्री केपी ओली प्रवृत्ति नै देश र देशवासीका लागि सबैभन्दा ठूलो घातक रहेको भन्दै त्यसविरुद्ध एकजुट हुन आह्वान गरेको छ । नागरिक आन्दोलनका अगुवा, लेखक तथा बुद्धिजीवीसँग बुधवार गरेको अन्तरक्रियामा गठबन्धनमा सहभागी दलका शीर्ष नेताहरूले ओली प्रवृत्तिको अन्त्य गर्नु अपरिहार्य रहेको भन्दै त्यस कार्यमा एक ठाउँमा उभिन सबैलाई आग्रह गरेका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *