काठमार्डौ- नेकपा (एमाले)का वरिष्ठ नेता झलनाथ खनाल र माधव नेपालनिकट युवा संघ नेपालको बागमती प्रदेश कमिटीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रधानमन्त्री वा अध्यक्षमध्ये एक पदबाट राजीनामा दिन माग गरेको छ।
संघले मंगलबार प्रेस वक्तव्य जारी गर्दै प्रधानमन्त्री ओलीसमक्ष पाँच बुँदामा आफ्ना माग राखेको हो। सो मागमध्ये संघले एक पदलाई कायम गर्ने गरी ओलीलाई अध्यक्ष वा प्रधानमन्त्रीमध्ये कुनै एक पदबाट राजीनामा दिन माग गरेको हो।
युवासंघ नेपालले नेकपा (एमाले) को नवौं राष्ट्रिय महाधिवेशनबाट निर्वाचित कमिटी २०७५ जेठ २ गतेको पार्टी कमिटीलाई क्रियाशील बनाउन माग गरेको छ भने विधि र विधानविपरीत हिँड्नु सर्वनाशको बाटो हुने भन्दै नेताहरूलाई एक ठाउँमा राखेर सो कमिटी ब्युँताएर बैठक बोलाउन भनिएको छ। पछिल्लो समय कोरोना भाइरसको महामारीले मुलुक आक्रान्त भएको अवस्थामा सबै नेपालीलाई खोपको व्यवस्था गर्न समेत संघले माग गरेको छ।



