सुदूरपश्चिम प्रदेश सरकारले ल्यायो ३० अर्ब ३३ करोडको बजेट

मुख्य खवर समाचार

कैलाली – सुदूरपश्चिम प्रदेश सरकारले आउँदो आर्थिक वर्षका लागि २०७८/०७९ का लागि ३० अर्ब ३३ करोड रुपैयाँको बजेट ल्याएको छ । प्रदेश सभामा आर्थिक मामिला तथा योजना मन्त्री प्रकाशबहादुर शाहले ३० अर्ब ३३ करोड ९४ लाख ५५ हजार रुपैयाँको बजेट प्रस्तुत गर्नुभएको हो ।

प्रस्तुत बजेटमा १० अर्ब ६६ करोड नौ लाख (३५.१ प्रतिशत) चालु र १७ अर्ब ६५ करोड ४० लाख पुँजीगत बजेट रहेको मन्त्री शाहले बताउनुभयो । चालु आर्थिक वर्षको भन्दा झन्डै तीन अर्ब रुपैयाँ घटाएर आउँदो आर्थिक वर्षको बजेट ल्याइएको हो । चालु आर्थिक वर्षका लागि ३३ अर्ब २८ करोड ४८ लाख रुपैयाँको बजेट प्रस्तुत गरिएको थियो । आउँदो वर्षको बजेटमा पनि सुदूरपश्चिम प्रदेशका सांसदले तीन करोड रुपैयाँ खर्च गर्न पाउने भएका छन् । प्रत्येक चुनाव क्षेत्रमा प्रदेश पूर्वाधार विकास कार्यक्रम सञ्चालन गर्न तीन करोडका दरले ९६ करोड रुपैयाँ बजेट विनियोजन गरिएको छ ।

प्रदेश गौरवका आयोजना र क्रमागत योजनाका लागि पाँच अर्ब १२ करोड, तटबन्धनका लागि दुई अर्ब दुई करोड, खानेपानी योजनाका लागि एक अर्ब ३४ करोड, मुख्यमन्त्री कृषि तथा पशुपक्षी विकास कार्यक्रमका लागि १६ करोड रुपैयाँ बजेट विनियोजन गरिएको छ ।

बजेटमा स्वास्थ्य क्षेत्रलाई प्राथमिकता दिइएको छ । अस्पताल स्तरोन्नति तथा सेवा सुधार वर्ष कार्यक्रम सञ्चालन गर्न दुई अर्ब ४२ करोड ५८ लाख, कोरोना लगायतका महामारी रोकथाम र उपचारका लागि ९० करोड, विद्यालय सुधार कार्यक्रमका लागि एक अर्ब १७ करोड र महिला सशक्तिकरण कार्यक्रमका लागि पाँच करोड रुपैयाँ बजेट विनियोजन गरिएको छ ।

यस्तै बादी समुदायको गरिबी न्यूनीकरणका लागि तीन करोड, कैलाश मानसरोवार प्रवेशद्वार निर्माणका लागि २० करोड ९० लाख, खप्तडमा पूर्वाधार विकास गर्न दुई करोड ५० लाख, सशस्त्र द्वन्द्वमा पीडित र घाइते परिवारलाई रोजगार बनाउन १० करोड रुपैयाँ बजेट विनियोजन गरिएको आर्थिक मामिला तथा योजना मन्त्री शाहले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *