काठमाडौं- विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ) ले थप एक चिनियाँ भ्याक्सिनलाई आपतकालीन प्रयोगको अनुमति दिएको छ। चीनको सिनोभ्याक नामक कम्पनीले उक्त भ्याक्सिनको उत्पादन गरेको हो। यसअघि डब्ल्युएचओले सिनोफर्माको भ्याक्सिनलाई मात्रै अनुमति दिएको थियो।डब्ल्युएचओले सम्पूर्ण देश‚ एजेन्सी र समुदायलाई विश्वास दिलाउँदै उक्त भ्याक्सिन सुरक्षित रहेको र भ्याक्सिनको अन्तर्राष्ट्रिय मानकहरूमा खरो उत्रिएको जनाएको छ।
अनुमति प्रदान गर्नुअघि भ्याक्सिनको प्रभावकारिता असर र सुरक्षासम्बन्धी अध्ययन गरिन्छ। अध्ययनका क्रममा सिनोभ्याकको भ्याक्सिन लगाएकामध्ये आधाभन्दा धेरैमा कोरोनाको लक्षण नदेखिएको‚ केहीमा सामान्य लक्षणमात्रै देखिएको र भ्याक्सिन लगाएकामध्ये कसैलाई पनि अस्पताल भर्ना हुन नपरेको बताइएको छ।
डब्ल्युएचओले अनुमति दिनुअगावै केही देशले सिनोभ्याक भ्याक्सिनको प्रयोग थालिसकेका थिए। चीनसँगै ब्राजिल‚ इन्डोनेशिया‚ मेक्सिको‚ थाइल्याण्ड‚ टर्की लगायतका देशमा उक्त भ्याक्सिनको प्रयोग भइरहेको हो। सिनोभ्याकले डब्लुएचओले अनुमति दिनुअगावै ६० करोड डोज आपूर्ति गरिसकेको थियो।
उक्त भ्याक्सिन १८ वर्षभन्दा माथिकालाई दिन सकिने बताइएको छ। अन्य भ्याक्सिनजस्तै सिनोभ्याक भ्याक्सिनको पूर्ण मात्र पनि दुई डोजको हुन्छ। पहिलो डोज लगाएको दुईदेखि चार साताभित्र दोस्रो डोज लिनुपर्ने बताइएको छ।
आपतकालीन अनुमति दिइएसँगै उक्त भ्याक्सिन कोभ्याक्स कार्यक्रममा समेत समेटिने अपेक्षा गरिएको छ। सबैलाई समान रुपमा खोप उपलब्ध गराउने लक्ष्यसहित घोषणा गरिएको कोभ्याक्स कार्यक्रमले हाल भ्याक्सिनको अभाव झेलिरहेको छ

