अमेरिकी संसद भवनमा भएको आक्रमणबारे छानबिन आयोग गठन गर्ने प्रस्ताव अस्वीकृत

अन्तर्राष्ट्रिय

काठमाण्डाै – अमेरिकाको संसद भवनमा भएको आक्रमणको अनुसन्धानका लागि आयोग गठन गर्नेसम्बन्धी प्रस्ताव अस्वीकृत भएको छ । गएको जनवरी ६ मा भएको हिंसात्मक आक्रमणको अनुसन्धान सम्बन्धी तल्लो सदनले पारित गरेको प्रस्ताव माथिल्लो सदनले रोकेको बीबीसीले जनाएको छ । ६० सिनेटरको समर्थन चाहिने प्रस्तावको पक्षमा ६ रिपब्लिकनसहित ५४ सिनेटरको मात्रै समर्थन प्राप्त भएको छ ।

राष्ट्रपति चुनावको नतिजालाई आधिकारिकता प्रदान गर्न संसदको संयुक्त सत्र चलिरहेका बेला तत्कालीन राष्ट्रपति डोनाल्ड ट्रम्पका समर्थकहरुले हिंसात्मक आक्रमण गरेका थिए । आक्रमणमा एक प्रहरी अधिकारीसहित कम्तीमा पाँच जनाको ज्यान गएको थियो । न्युयोर्क र वासिङ्टनमा भएको आतङ्कवादी आक्रमणकै जस्तै गरी संसद भवनमा भएको आक्रमणको अनुसन्धानका लागि आयोग गठन गर्ने प्रस्ताव विधेयकमा थियो ।

दुवै पार्टीका बराबर सदस्य रहने १० सदस्यीय आयोगले भविष्यमा हुनसक्ने आक्रमण रोक्नका लागि गर्नु पर्ने कामहरुबारे सुझाव दिने व्यवस्थाकाे प्रस्ताव गरिएको थियो । आयोग बन्न रोकेको भन्दै राष्ट्रपति जो बाइडेनले रिपब्लिकनको आलोचना गर्नुभएको छ । पूर्व राष्ट्रपति ट्रम्प भने आयोगले दोषी करार गर्ने सम्भावित खतराबाट बच्नुभएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *