उपत्यकामा निषेधाज्ञा लागू हुने भएपछि घर फर्कने बढे

विशेष समाचार

काठमाडौं – बिहीबारदेखि काठमाडौं उपत्यकाका तीनवटा जिल्लामा निषेधाज्ञा आदेश लागू हुने भएपछि आज बिहानैदेखि काठमाडौं छाड्नेहरुको लर्को लागेको छ।  काठमाडौंका विभिन्न क्षेत्रबाट लामो तथा छोटो दूरीमा जाने यात्रुहरुको भिड लागेको छ। हिजो साँझ बसेको मन्त्रिपरिषद् बैठकले वैशाख महिनाभर काठमाडौं उपत्यकाका ३ वटै जिल्लामा निषेध आदेशको निर्णय गरेको थियो। बिहानैदेखि लामो तथा छोटो दूरीका यात्रुहरुको बसपार्कहरुमा भिड देखिएको ट्राफिक प्रहरीले जनाएको छ।

ट्राफिक प्रहरीका प्रवक्ता श्याम कृष्ण अधिकारीले अघिल्ला दिनहरुको तुलनामा ठूलो संख्यामा यात्रुहरु बसपार्कहरुमा जम्मा भएको जानकारी दिए। निषेध आदेशसँगै उपत्यकामा अत्यावश्यक बाहेकका सबै क्षेत्र बन्द हुनेछन्। कोरोना भाइरसको संक्रमण तीव्र रुपमा बढेसँगै सरकारले १५ दिनका लागि पहिलो चरणमा निषेध आदेशको निर्णय गरेको छ।

त्यसअघि उपत्यकाका तीनवटै जिल्ला प्रशासन कार्यालयले एक हप्ताका लागि निषेध आदेश जारी गरेका थिए। अब मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार पहिलो चरणमा १५ दिन निषेध आदेश हुनेछ। सरकारले आवश्यकताअनुसार निर्णय लिन स्थानीय प्रशासनलाई अधिकार दिएकाले विभिन्न जिल्ला आ–आफ्नो अनुकुलतामा निषेध आदेश जारी भएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *