ओलीजी अलिकति नैतिकता जोगाउन पनि राजीनामा दिनुस् : माधव नेपाल

राजनीति

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–माधव समूहका अध्यक्ष माधव कुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीलाई पदबाट राजीनामा दिएर थोरै भए पनि नैतिकता देखाउन आग्रह गरेका छन्। शनिबार पार्टी कार्यालय पेरिशडाँडामा आयोजित पार्टी समायोजन तथा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै नेपालले ओलीले प्रधानमन्त्री पदबाट राजीनामा दिएर थोरै भएपनि नैतिकता देखाउन अन्तिम मौका बाँकी रहेको बताएका हुन्।

‘केपी ओलीलाई हामी अन्तिम मौका दिइरहेका छौं। राजीनामा दिनुहोस् नैतिकताको सानो अंश भएपनि देखाउनुहोस्। नभए इतिहासमा तपाई सधैंभरी कलंकित मात्रै हुनुहुनेछ’ नेपालले भने,‘धेरै फुर्ती नदेखाउनुहोस्। तपाईका फुर्ती देखाउने दिन गए।’

नेपालले ओलीले आफैले बनाएको संविधानलाई मृत बनाएर प्रतिनिधिसभालाई सिध्याउने अवस्थामा पुर्याउने अत्यन्तै प्रतिगामी कदम चालेको टिप्पणी पनि गरे। ‘कम्युनिस्ट बिचार बोक्नेहरू प्रतिगमनमा पनि लाग्दा रहेछन् भन्ने एउटा उहाँले नकारात्मक उदाहरण दिनुभएको छ। विगतमा पनि कम्युनिस्ट आन्दोलनमा लागेका मान्छे दक्षिणपन्थी दिशामा विसर्जन भएर गएका छन्’ नेपालले भने,‘यो नौलो कुरा होइन।

त्यसबाट हामी निरास हुँदैनौ केपी ओलीको कदमविरुद्ध सिंगो देश नै आन्दोलित, तरंगित भयो। यो पार्टी मात्रै होइन संसदमा भएका राजनीतिक दलहरू पनि आन्दोलनमा उत्रिए।’ सर्वोच्च अदालतको फैसलाले संविधान र मुलुकको राजनीतिक दिशालाई सही बाटोमा लैजाने काम गरेकाले भन्दै नेपालले सो फैसला ऐतिहासिक भएको बताए।

पार्टी अध्यक्ष तथा साधारण सदस्यबाट हटिसक्दा पनि प्रधानमन्त्री ओली पदमा बसिरहेको देखेर दुनियाँ नै चकित भएको उनको भनाइ थियो। नेपालले भने,‘अत्यन्तै गलत प्रवृति बोकेका केपी ओली पार्टीको अध्यक्षबाट निष्कासित भइसके, पार्टी सदस्यबाट हटिसके, तर पनि अटेर भएर अझैं पदमा टाँसिएर बसेका छन्। सर्वोच्चको फैसला पछि पराजित भइसके पनि पदमा टाँसिएर बसेको देख्दा सारा दुनियाँ आश्चर्यचकित छन्। कस्ता सन्तान नेपाली आमाले जन्माएछन् भनेर।’

उनले पार्टी नाम र चुनाव चिन्हको संघर्ष जारी नै रहेको भन्दै कसैले पनि आफूहरूप्रति कर्केनजर नलगाउन चेतावनी दिए। ‘कसैले पनि कर्के आँखा नदेखाए हुन्छ। मुल पार्टी यही हो। सूर्य चिन्ह यही पार्टीको हो। कसैले खोसेर लान सक्दैन’ नेपालले भने,‘केपी ओली सँग अझैं पनि अलमलिएर बसेका मान्छेहरूलाई भ्रमबाट मुक्त भई मुल पार्टीमा समाहित हुन आग्रह गर्दछु।’

नेत्रविक्रम चन्द विप्लव राजनीतिको मुल प्रवाहमा आएपनि कम्युनिस्ट आन्दोलनको मुल प्रवाहमा आउन बाँकी रहेको भन्दै नेपालले आफूहरू कम्युनिस्ट आन्दोलनको मुल प्रवाहमा विप्लवलाई स्वागत गर्ने दिनको प्रतिक्षामा रहेको बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *