डिल्लीराज पन्त /कञ्चनपुर – कञ्चनपुर प्रशासन कार्यालयले बिहीबार मध्यरातदेखि निषेधाज्ञा जारी गरेपछि महेन्द्रनगर बजारमा चहलपहल ह्वात्तै घटेको छ । बजारमा छिटफुट केही नास्ता र अन्य व्यवसाय खुलेका छन् । सडकमा छिटफुट आवागमन देखिएको छ । चमनचोक र मदन चोक लगायतका क्षेत्रमा सुरक्षाकर्मी तैनाथ गरिएका छन् ।

निषेधा ज्ञा जारी हुन अघि बुधबार विहानैदेखि बजारमा चहलपहल हुने गरेको थियो । स्थानीय प्रशासनले जोर विजोरका आधारमा सार्वजनिक सवारी सञ्चालन गर्ने दिने भएकाले वसपार्क नजिकका क्षेत्रमा सवारी साधन देखिएका छन् ।

सुदूरपश्चिमेलीको सबैभन्दा ठूलो चाड गौरा र तिजलाई मध्यनजर गरी प्रमुख जिल्ला अधिकारी नूरहरि प्रसाद खतिवडाले बुधबार दिउँसो बिहीबार रातिदेखि लागू हुने गरी भदौ १४ गतेसम्मका लागि अत्यावश्वक बाहेकका सबै सेवाका क्षेत्र बन्द गर्ने आदेश जारी गरेका थिए ।

त्यसमा अत्यावश्यक सेवा तथा वस्तु बाहेकका अन्य सबै प्रकारका उद्योग, व्यापार व्यवसाय सञ्चालन गर्न नपाईने सबै प्रकारका निजी तथा सार्वजनिक सवारी साधन जोर बिजोरका आधारमा सञ्चालन गर्न पाइने छ भने औषधि, खाद्यान्न, तरकारी, दुध, फलफूल, माछा, मासु लगायत अत्यावश्यक बस्तुहरु किन्न मात्रै सवारी साधन प्रयोग गर्न पाइने उल्लेख गरिएको छ ।

शैक्षिक सस्था, प्रशिक्षण केन्द्रहरु, ट्युसन सेन्टर, भाषा कक्षा सञ्चालन गर्न नपाउने भएको छ भने सभा, सम्मेलन, गोष्ठी, तालिम, सेमिनार, सिनेमा हल, पार्टी, प्यालेस, डिपार्टमेन्ट स्टोर, मनोरञ्जन स्थल, सैलुन, ब्यूटीपार्लर, स्वीमीङ पुल, जिमखाना, पुस्तकालय, संग्रहालय, सञ्चालन नपाइने आदेशमा उल्लेख गरिएको छ ।

