सुदूरपश्चिम प्रदेशमा आईतबार थप ४८ जनामा कोरोना पुष्टि

समाचार

धनगढी । सुदूरपश्चिम प्रदेशमा आईतवार थप ४८ जनामा कोरोना पुष्टि भएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौँ, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, सेती प्रादेशिक अस्पताल र डडेल्धुरा अस्पतालमा भएको परीक्षणमा आज ४८ जनामा कोरोना पुष्टि भएको हो ।

चार वटै प्रयोगशालामा भएको परीक्षणमा कैलालीका ३२, डोटीका १२, बझाङका दुई, दार्चुला र बैतडीका एक÷एक जनामा संक्रमण पुष्टि भएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा भएको परीक्षणमा डोटीका ११, कैलालीका १० र बझाङका दुई जनामा संक्रमण पुष्टि भएको छ ।

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा भएको परीक्षण्मा दार्चुृलाका एक जना र डडेल्धुरा अस्पतालमा भएको परीक्षणमा डोटीका एक जनामा पनि कोरोना पुष्टि भएको प्रवत्ता गौतमले बताए । यता सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा पछिल्लो २४ घण्टामा दुई सय ३८ जनाको कोरोना परीक्षण भएकोमा कैलालीका २२ र बैतडीका एक गरी २३ जनामा संक्रमण पुष्टि भएको छ ।

अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले कैलालीको बर्दगोरी गाउँपालिका वडा नम्वर ५ का तीन महिला र पाँच पुरुष गरी ८ जना, टीकापुर नगरपालिकाका दुई महिला र पाँच पुरुष गरी सात जना, मोहन्याल गाउँपालिका वडा नम्वर ५ का दुई पुरुष, जोशीपुर गाउँपालिका वडा नम्वर १ का एक पुरुषमा कोरोना पुष्टि भएको बताए ।

उनका अनुसार धनगढी उप–महानगरपालिकाका वडा नम्वर ३ र ५ का एक र एक जना पुरुष, घोडाघोडी नगरपालिका वडा नम्वर १ र गोदावरी नगरपालिकाका एक- एक पुरुषमा पनि कोरोना पुष्टि भएको छ ।

यस्तै बैतडीको पाटनका २६ बर्षीय युवकमा समेत कोरोना पुष्टि भएको अस्पतालले जनाएको छ। आईतवार ४८ जनामा संक्रमण पुष्टि भएसंगै सुदूरपश्चिममा कोरोना संक्रमितको संख्या चार हजार सात सय ४० पुगेको छ ।

अहिलेसम्म सबैभन्दा बढि कैलालीका एक हजार एक सय ६० जनामा संक्रमण पुष्टि भएको छ। यस्तै डोटीका सात सय ८२, अछाममा सात सय ६, बाजुराका ६ सय १९ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

कञ्चनपुरका ५ सय ५२, डडेल्धुराका ३ सय नौ, बैतडीका दुई सय ९६, बझाङका दुई सय ७७ र दार्चुलाका ३९ जनामा संक्रमण पुष्टि भएको हो । संक्रमण पुष्टि भएका तीन हजार ४६ जना डिस्चार्ज भएर घर फर्किएका छन् भने नौँ जनाको मृत्यु भईसकेको छ । दैनिक संक्रमण बढेपछि सुदूरपश्चिम देशभरीमा सबैभन्दा बढि संक्रमित रहेको दोस्रो प्रदेश बनेको छ । सुदूरपश्चिम प्रदेश भन्दा बढि संक्रमित प्रदेश नम्वर २ मा रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *