निर्मला हत्या प्रकरण : प्रहरी उपरीक्षक बिष्ट सहित आठै जनाले पाए सफाइ

समाचार

कञ्चनपुर- कञ्चनपुरको भीमदत्त नगरपालिका वडा नम्बर २ की निर्मला पन्तको बलात्कार पछि हत्या प्रकरणमा प्रमाण नष्ट र यातना विरुद्धको कसुरमा मुद्दा खेपिरहेका तत्कालीन प्रहरी उपरीक्षक डिल्ली राज बिष्ट सहित आठै जना प्रहरीले सफाई पाएका छन् । मुद्दा खेपिरहेका एसपी बिष्ट सहित डीएसपी अंगुर जिसी, डीएसपी ज्ञान बहादुर सेठी, इन्स्पेक्टर एकिन्द्र बहादुर खड्का, इन्स्पेक्टर जगदीश प्रसाद भट्ट, सई हरसिंह धामी, सई रामसिंह धामी र जवान चाँदनी साउँदलाई जिल्ला अदालत कञ्चनपुरले बिहीबार सफाइ दिएको हो ।

जिल्ला अदालत कञ्चनपुरका न्यायाधीश गोपाल प्रसाद बाँस्तोलाको इजलासले सबै आरोपीलाई सफाइ दिएको श्रेस्तेदार यदुराज शर्माले बताउनु भएको छ । भीमदत्त नगरपालिका वडा नम्बर २ की १३ वर्षिया बालिका निर्मला पन्तको २०७५ साउन १० गते बलात्कारपछि हत्या गरिएको अवस्थामा उखुबारीमा शव फेला परेको थियो ।

सोही प्रकरणमा मृतक निर्मला पन्तकी आमा दुर्गा देवीले उनीहरु विरुद्ध प्रमाण नष्ट गरेको आरोपमा मुद्दा दायर गर्नु भएको थियो । त्यस्तै, प्रहरीले अभियुक्तका रुपमा सार्वजनिक गरेका दिलिप सिंह बिष्टका दाजु खडक सिंह बिष्टले यातना विरुद्धको कसुरमा प्रहरी अधिकारीहरू विरूद्ध मुद्दा दायर गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *