पुराना नेतालाई पार्टीबाट निकाल्ने खेलमा सभापति लाग्नुभयो: प्रकाशमान सिंह

राजनीति

नेपाली कांग्रेसका पूर्वमहामन्त्री प्रकाशमान सिंहले सभापति शेरबहादुर देउवाको कार्यशैलीप्रति टिप्पणी गरेका छन्। अनुशासन समितिले हालै पूर्वसहमहामन्त्री गोविन्दराज जोशीलगायत तीन जनालाई कारबाही गरेकोप्रति असन्तुष्टि जनाएका सिंहले पुराना नेतालाई कारबाही गर्नतर्फ सभापति लागेको बताएका हुन्।

‘पार्टीभित्रका पुराना नेताहरूलाई कारबाही गर्ने र अरूलाई प्रवेश गराउने खेलमा सभापतिजी लाग्नुभएको छ,’ सिंहले बुधबार न्युज एजेन्सी नेपालसँगको कुराकानीमा भने, ‘पार्टी प्रवेश गराउने र कारबाही गर्ने काम समयअनुसार ठिक भएन।’राप्रपा छाडेर आएका सुनिल थापालगायत नेता मंगलबार कांग्रेस प्रवेश गरेका थिए। थापालाई कांग्रेसले सहमहामन्त्री बनाएको छ।

‘अरू पार्टीबाट प्रवेश गराउने राम्रै कुरा हो। तर पुराना नेतालाई कारबाही गरेर पार्टीबाट निकाल्ने र अरूहरूलाई प्रवेश गराउने? प्रवेश त गराउनु पर्छ ठिक छ तर यो जुन समय हो ठिक भएन भन्ने हो,’ सिंहले थपे।

उनले घुमाउरो भाषामा अब देउवालाई फेरि सभापतिमा दोहोर्‍याउन नहुने बताए। ‘फेल भइसकेका नेतालाई अब १४ औं महाधिवेशनमा दोहोर्‍याउनु हुन्न,’ उनले भने। उनले २०४६ सालयता सबै नेतृत्व शक्ति र सत्ताको खेलमा लागेकोले पार्टी कमजोर भएको पनि बताए। सभापति देउवाले विधानले तोकेका कामभन्दा बाहिर गएर काम गर्दा पार्टीको स्वास्थ्य बिग्रेको उनको आरोप थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *