आर्सनलसँग लिभरपुल पराजित

खेलकुद

एजेन्सी- इङ्लिस प्रिमियर लिग फुटबलमा आर्सनलले लिग विजेता लिभरपुललाई पराजित गरेको छ।  लिभरपुलले सुरुवाती अग्रता जोगाउन नसक्दा आर्सनलसँग २–१ गोलले पराजित हुनुपर्यो।

घरेलु मैदान इमिरेट्स स्टेडियममा गएराति सम्पन्न खेलमा आर्सनलको जितमा अलेक्जेन्ड्रे लाकाजेट्टे र रेइस नेल्सनले १–१ गोल गरे।  त्यस्तै लिभरपुलका लागि साडियो मानेले शान्त्वना गोल गरे। खेलको २० औँ मिनेटमा मानेको गोलबाट लिभरपुलले १–० को अग्रता लिएको थियो। तर ३२ औँ मिनेटमा लाकाजेट्टेले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए।

पहिलो हाफ सकिन १ मिनेट बाँकी छँदा नेल्सनले आर्सनलका लागि दोस्रो गोल गरे।  दोस्रो हाफमा कुनै पनि टोलीबाट गोल हुन नसकेपछि आर्सनल २–१ गोलले विजयी भयो। गएरातिको हारसँगै प्रिमियर लिगमा कीर्तिमानी अंक बनाउने लिभरपुलको लक्ष्य अधुरै रहेको छ।

लिभरपुलको ३६ खेलबाट ९३ अंक जोडेको छ। नवौँ स्थानमा रहेको आर्सनलले ५३ अंक जोडेको छ। लिग अन्तर्गत गएरातिका अन्य खेलमा म्यानचेस्टर सिटीले बर्नमाउथलाई २–१ र टोटेनह्याम हट्सपरले न्युक्यासल युनाईटेडलाई ३–१ गोलले पराजित गरेका छन्। त्यस्तै बर्नले र उल्भरह्याम्टन १–१ गोलको बराबरीमा रोकिएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *