भरतपुर अस्पतालमा उपचारका क्रममा कैलालीका कोरोना संक्रमितको मृत्यु

समाचार

चितवन — भरतपुर अस्पतालमा उपचारका क्रममा शनिबार एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । कैलालीको गोदावरी नगरपालिका लालपुरका ५० वर्षीय कोरोना संक्रमितको शनिबार मृत्यु भएको हो ।

चितवन मेडिकल कलेजको शिक्षण अस्पतालमा उपचारका क्रममा रहेका बेला नै ती व्यक्तिमा बिहीबार राति कोरोना संक्रमण पुष्टि भएको थियो । लगत्तै सीएमसीले उनलाई भरतपुरको सरकारी अस्पतालमा पठाएको थियो । भरतपुर अस्पतालका अध्यक्ष डा.भोजराज अधिकारीले शनिबार बिहान ७ बजे ती व्यक्तिको निधन भएको जानकारी दिए ।

भरतपुर अस्पतालका चिकित्सक डा.प्रमोद पौडेलका अनुसार संक्रमित व्यक्तिमा अन्तिम अवस्थाको फोक्सोको क्यान्सर थियो । उनलाई खोक्दा पनि रगत आउने समस्या रहेको डा. पौडेलले जानकारी दिए ।

योसँगै उपचारका क्रममा भरतपुर अस्पतालमा दुई जनाको निधन भएको छ । यसअघि भरतपुरकै एक जना वृद्ध निजी अस्पतालमा उपचार गराइरहेका बेला जेठ २६ मा कोरोना संक्रमित पुष्टि भएपछि तत्कालै भरतपुर अस्पताल पठाइएको थियो । भोलिपल्टै जेठ २७ गते बिहान उनको मृत्यु भएको थियो ।

त्यस्तै भरतपुर अस्पतालमा उपचार गराएका कोरोना संक्रमित फोक्सोको क्यान्सर भएका भरतपुर–६ केशरबागका एक जना ७५ वर्षीय वृद्धको भने सफल उपचार भएको थियो । योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २८ पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *