कैलाली – कैलालीमा क्वरेन्टीनमा बसेकी युवतीमाथि सामूहिक बलात्कार गर्ने तीन युवकविरुद्ध मुद्दा दर्ता गरिएको छ । पीडित ३१ वर्षीया युवतीले सामूहिक बलात्कार गर्ने तीनै जनाविरुद्ध इलाका प्रहरी कार्यालय लम्कीमा किटानी जाहेरी दिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रतिक विष्टले बताउनुभयाे ।
बलात्कार आरोपित तीनै जनालाई प्रहरीले आइतबार नै नियन्त्रणमा लिएर अनुसन्धान थालेको जनाएको छ । पक्राउ पर्नेमा लम्कीचुहा नगरपालिका वडा नम्बर १ का २२ वर्षीय किशोर परियार, २० वर्षीय लक्षण विक र १८ वर्षीय सर्जन विक रहेको प्रहरीले जनाएको छ । उनीहरु क्वरेन्टीनमा स्वयम सेवकको रुपमा खटिएका थिए ।


