कैलाली- कैलालीको धनगढी उपमहानगरपालिका–१४ का दुई संक्रमितले उपचारका लागि अस्पताल भर्ना पाएका छैनन् । जेठ २२ गते कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएका दुई जना संक्रमितलाई उपचारका लागि अस्पतालले भर्ना नगरे पछि क्वारेन्टिनमा राखिएको छ ।
अस्पतालले भर्ना नलिए पछि धनगढी उपमहानगरपालिका–१४ ‘बि’ गाउँस्थित पञ्चवदेय माध्यमिक विद्यालयको क्वारेन्टिनमा राखिएको वडाध्यक्ष राम बजारी चौधरीले बताए । जेठ १२ गते भारतबाट फर्किएर पञ्चवदेय माध्यमिक विद्यालयको क्वारेन्टिनमा बसेका दुई जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । तर संक्रमण पुष्टि भएकै दिन सेती प्रादेशिक अस्पताल लगिए पनि अस्पतालले भर्ना नगरी फर्काएको वडाध्यक्ष चौधरी बताउँछन् ।
‘अस्पतालमा ठाउँ छैन् भनेर फर्काइएको थियो, त्यस पछि संक्रमितलाई क्वारेन्टिनमै अरु मानिसबाट छुट्टै राखेका छौँ ।’ वडाध्यक्ष चौधरीले भने संक्रमण पुष्टि भएका बिरामीलाई क्वारेन्टिनमै राखिएपछि क्वारेन्टिनमा बसेका मानिस त्रसित भएका छन् । पञ्चवदेय माध्यमिक विद्यालयको क्वारेन्टिनमा अहिले २० जना रहेको वडाध्यक्ष चौधरीले बताए ।
प्रयाप्त स्वास्थ्यकर्मी नहुँदा संक्रमितलाई दिनहु चेकजाँच गर्न नसकिएको उनले गुनासो गरे । संक्रमितको अवस्था सामान्य रहेको धनगढी उपमहानगरपालिकाका स्वास्थ्य शाखाका प्रमुख कुम्भराज शर्माले बताए ।
उता सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले संक्रमितमा कुनै लक्षण नदेखिएकाले स्वास्थ्य मन्त्रालयले जारी गरेको निर्देशिकालाई टेकेर अस्पतालमा भर्ना नगरिएको बताए ।
‘लक्षण नदेखिएका बिरामीलाई घरमै आइसोलेसन बस्न सक्ने व्यवस्था गरिएको छ, त्यही अनुसार सुरक्षित तरिकाले आइसोलेसनमा राख्नु भनेर अस्पतालमा भर्ना नगरी पठाइएको हो ।’ सूचना अधिकारी श्रेष्ठले भने ।
धनगढीमा केही दिन अगाडि सञ्चालनमा आएको ५० शैयाको कोरोना अस्पतालमा शैया खाली रहेकाले दुई संक्रमितलाई पनि त्यहीँ आइसोलेसनमै राख्नु पर्ने स्थानीयले माग गरे ।
सो अस्पतालमा अहिले २३ जना संक्रमित छन् । कोरोना संक्रमितको संख्या बढेसँगै स्वास्थ्य मन्त्रालयले लक्षण नदेखिएका विरामीहरुलाई घरमै आइसोलेसन राख्ने निती अनुरुप नयाँ निर्देशिका जारी गरेको हो ।
स्वास्थ्य मन्त्रालयले जारी गरेको निर्देशिकाको घरमै आइसोलेसनमा बस्दा पालना गर्नुपर्ने कुराहरु उल्लेख छन् । जसमा हावा खेल्ने तथा प्रर्याप्त प्रकाश आउने छुट्टै कोठाको व्यवस्था हुनुपर्ने, उपचार अवधिभर बाहिर ननिस्कने र आवश्यक सामाग्री परिवारका सदस्यहरु मार्फत मगाउने, पर्याप्त मात्रामा पानी, झोलिलो र पोसिलो खानेकुरा खाने, प्रयोग गरेको भाडाहरु सुरक्षित रुपमा सफा गर्ने र राम्रो सुकेपछिमात्रै प्रयोग गर्ने उल्लेख छ ।
यस्तै स्नानघर, शौचालयको छुट्टै व्यवस्था मिलाउने, सामुहिक रुपमा प्रयोग गर्नुपर्ने अवस्थामा राम्रोसँग सरसफाई गर्ने, व्यक्तिगत सामाग्रीहरु अरुलाई प्रयोग गर्न नदिने, हातधुने साबुन र पञ्जाको पर्याप्त व्यवस्था गर्नुपर्ने, दिनमा कम्तीमा ३ पटक ज्वरो जाँच गरी रेकर्ड राख्ने, हरेक दिन दुईपटक आफ्नो स्वास्थ्य अवस्थाबारे सम्बन्धित स्वास्थ्यकर्मीलाई फोन तथा एसएमएसबाट जानकारी गराउने आदि उल्लेख छ ।
##Dainiksanchar##

