सुदूरपश्चिमको नीति तथा कार्यक्रम : रोगबाट बचाऔँ, भोकबाट जोगाऔँ

समाचार

कैलाली – कृषि, शिक्षा, स्वास्थ्य र पूर्वाधार निर्माणका कार्यक्रमलाई प्राथमिकता दिदै सुदूरपश्चिम प्रदेश सरकारले आर्थिक वर्ष २०७७/७८ को नीति तथा कार्यक्रम सार्वजनिक गरिएको छ । सोमबार प्रदेश प्रमुख शर्मिला कुमारी पन्तले आगामी आर्थिक बर्ष २०७७/०७८ नीति तथा कार्यक्रम प्रस्तुत गरेकी हुन् ।

प्रदेश सरकारले कोरोना भाइरसको महामारीपछि प्रभावित भएकाहरुलाई लक्षित गर्दै नीति तथा कार्यक्रम ल्याएको छ । प्रदेश सरकारले आगामी आर्थिक बर्षको लागि रोगबाट बचाऔँ, भोकबाट जोगाऔँ अभियान संचालन गने नीति लिएको छ ।

नीति तथा कार्यक्रममा ९ वटै जिल्ला अस्पतालको स्तरोन्नति गर्ने, धनगढी, महेन्द्रनगर र डडेल्धुराका स्वास्थ्य संस्थाको स्तरोन्नति गर्ने, बैतडी, डोटी र अछाम अस्पतालमा मोलिक्युलर सेटअफ सहितको प्रयोगशाला स्थापना गर्ने उल्लेख गरिएको छ ।

त्यस्तै प्रदेशमा एउटा सुविधा सम्पन्न ट्रमा सेन्टर स्थापना गर्ने, एक सय शय्याको सरुवा रोग नियन्त्रण अस्पताल र क्यान्सर अस्पताल सञ्चालन गर्ने, सेती र महाकाली अस्पतालबाट विशिष्टकृत सेवा सञ्चालन गर्ने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।

विगतको बर्ष जस्तै मुख्यमन्त्री एकीकृत कृषि कार्यक्रम, नमूना गाउँ आफै बनाउ कार्यक्रमलाई पनि अगामी वर्ष निरन्तरता दिइने भएको छ ।

प्रदेशमा प्रदेश विश्व विद्यालय स्थापना गर्न सम्भाव्यता अध्ययन गर्ने, पिछडिएका वर्गका जेहेन्दार विद्यार्थीलाई चिकित्सा शिक्षा लगायत उच्च शिक्षा अध्ययन गर्न छात्रवृत्ति उपलब्ध गराईने, पूर्ण साक्षर प्रदेश घोषणा गर्ने, सामाजिक विकास कार्यालय र तालिम केन्द्र सञ्चालन गर्ने कार्यक्रम पनि समावेश गरिएको छ ।

प्रदेशमा प्रदेशका गाउँ उज्यालो बनाउ कार्यक्रम सञ्चालन गर्ने, ९ वटै जिल्लामा एक एक आधुनिक शहरका लागि अध्ययन गरी निर्माण थाल्ने, दुई सय १४ किलोमिटर सडक कालोपत्रे गर्ने लक्ष्य समेत नीति तथा कार्यक्रममा किटान गरिएको छ ।

यस्तै सरकारले अगामी वर्ष एक विद्यालय एक नर्स र एक योग गुरु कार्यक्रम, मुख्यमन्त्री ज्येष्ठ नागरिक स्वास्थ्य कार्यक्रम, जलस्रोतमा लगानी, नागरिकको आम्दानी नीति अवलम्बन गर्दै जनता र सरकारको लगानीमा जलस्रोत परियोजना प्रवद्र्धन गर्ने नीति पनि लिने भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *