डडेल्धुराका कोरोना संक्रमित १० दिनमा निको भए

समाचार

डडेल्धुरा डडेल्धुरा अस्पतालको आइसोलेसनमा उपचाररत कोरोना संक्रमित निको भएका छन् । जिल्लाको परशुराम नगरपालिका–१० कुर्मुर्लेका २८ वर्षीय संक्रमितको लगातार दुई पीसीआर रिपोर्ट नेगेटिभ आएको अस्पतालका मेडिकल सुपरिडेन्ट डा. जगदिशचन्द्र बिष्टले बताए । ‘लगातार दुई रिपोर्ट नेगेटिभ आएको छ, आज डिस्चार्ज गर्ने तयारी छ ।’ उनले भने । स्क्रब टाइपसको समस्या लिएर अस्पताल पुगेका उनीमा जेठ ९ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।

त्यस पछि डडेल्धुरा अस्पतालको आइसोलेसनमा उनको उपचार भइरहेको थियो । १० दिनमा कोरोनालाई जितेर ती युवक घर फर्किन लागेका हुन् । उनी अमरगढी नगरपालिकास्थित एक सरकारी कार्यालयमा कार्यरत कर्मचारी हुन् । धनगढीस्थित प्रयोगशालामा गरिएको पीसीआर परीक्षणको पछिल्लो दुई रिपोर्ट नेगेटिभ आएको हो ।

यो संगै सुदूरपश्चिममा कोरोनालाई जित्नेको संख्या ६ पुगेको छ । यस अघि कैलालीका चार र कञ्चनपुरका एक जना निको भएर घर फर्किएका थिए । सुदूरपश्चिममा कोरोना संक्रमित संख्या २५ छ । तीमध्ये बाजुराको बुढीगंगा नगरपालिका–१ की दुई वर्षीय बालिकाको मृत्यु भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *