काठमाडौँ — नेपालमा कोरोना संक्रमितको संख्या १ हजार ४०१ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा थप १८९ जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जानकारी दिएको हो । शनिबार मन्त्रालयले आयोजना गरेको नियमित मिडिया ब्रिफिङमा प्रवक्ता डा. विकास देवकोटाले संक्रमितको संख्या १ हजार ४०१ पुगेको जनाए ।
- कपिलवस्तु १०९
- सर्लाही १७
- दैलेखका १४ जना
- सिरहा ११
- सप्तरीका ९
- धनुषा ७
- रौतहट ६
- दाङ ५
- महोत्तरी ४
- पर्सा २
- संखुवासभा २
- झापा १
- ललितपुर १
- बारा १
संक्रमितमध्ये हालसम्म २१९ जना निको भएर घर फर्किइसकेका छन् । पछिल्लो २४ घण्टामा १३ जना डिस्चार्ज भएका हुन् । बुढानिलकण्ठ र टोखाका २ जना टेकु अस्पतालबाट, ९ जना बलम्बु अस्पतालबाट, अछामका १ जना, रुकुमका १ जना डिस्चार्ज भएका हुन् ।
हालसम्म कोरोना संक्रमणले सिन्धुपाल्चोकमा एक, बाँकेमा एक, गुल्मीमा एक, बाराका एक, ललितपुरका एक र अर्घाखाँचीका एक गरी ६ जनाको मृत्यु भएको छ । क्वारेन्टाइनमा रहनेको संख्या १ लाख १० हजार ८८ जना रहेका छन् । आइसोलेसनमा रहनेको संख्या देशभरी १ हजार १ सय ७६ जना रहेको छ ।
मन्त्रालयका अनुसार शनिबारसम्म नेपालमा आरडीटी विधिबाट १ लाख ७ हजार ५५ नमुना परीक्षण भएका छन् । पीसीआर विधिबाट भने हालसम्म ६६ हजार ७ सय २९ परीक्षणहरु गरिएका छन् ।

