नेपाल–भारत सम्बन्ध बिग्रिदै जानुका कारण

विचार/ब्लग
  • लेखक : जनक सिंह धामी  
  • नेपाल भारत दुवै सम्प्रभुता सम्पन्न राष्ट्र हुन । भारतलाई एउटा असल छिमेकी राष्ट्रको रुपमा पनि हेरिने गरिन्छ । खासगरि सदियौं देखि साँंस्कृतिक तथा धार्मिक रुपमा अन्योन्याश्रीत सम्वन्ध रहेको भारतलाई रोटि–वेटीको सम्वन्ध भएको मित्रराष्ट्र पनि भन्ने गरिन्छ । व्यापार, रोजगार खुल्ला सिमाना, निर्वाध रुपमा आवागमनका दृष्टिकोणले पनि भारतसँग नेपालको गाढा सम्वन्ध रहेको बुझिन्छ ।
  • यो सँगसँगै भारतसँगको सिमा विवाद, विभिन्न समयमा भएका सन्धि सम्झौताको विवादका पनि लामाश्रृङ्खलाहरु छन् ब्रिटिसबाट भारत स्वतन्त्र भए पश्चात भारतको नेपाल प्रतिको प्रभुत्ववादि नीतिले कालान्तरमा आएर राम्रो मित्रता भएका दुइटा देशको सम्वन्ध पेचिलो बन्दै गएको छ । जसमा ठुलै भूमिका नवाँधि नेपाल भारत सम्वन्ध विग्रिनु तथा नेपालमा भारत विरोधी भावनाको विकास हुनुमा केही कारणहरु समेटन सिधै विषय प्रवेश गर्न चाहन्छु । जुन यस प्रकार छन्ः
  • १) २०७२ सालको नेपालको संविधान र नाकावन्दि :- नेपालमा गणतन्त्र स्थापना भइ सकेपछि दोस्रो संविधान सभाले नेपालको संविधान जारि गर्दा भारतले यसलाई मान्यता दिएको थिएन । पश्चिमाहरुको दवाव हो वा समयको माग अनुसार नेपालले धर्म निरपेक्ष राष्ट्र घोषणा गरेको अर्थात भारतको स्वार्थ अनुसार नेपालको संविधान निर्माण नहुन सकेकाले भारतले नेपाल माथि अघोषित नाकावन्दी लगायो तथापी भारतले नेपालमा लगाएको यो पहिलो नाकावन्दी भने होइन ।
  • भारतले आफ्नो स्वार्थ पुरा नभएको बेला नेपालमा समय समयमा नाकावन्दी लगाउँदै आएको छ । २०२७ सालमा राजा महेन्द्रको पालामा व्यापार तथा पारवाहान सन्धि नविकरण नगरि नाकावन्दी लगाएको थियो भने २०४५ सालमा नेपालले चिनबाट हात हतियार खरिद गरेको कुरालाई निहु बनाएर नाकावन्दी गरेको थियो । तर त्यो बेला पञ्चायति निरंकुशतन्त्रका विरुद्ध नेपालमा आन्दोलन चर्केकाले जनताले भारत प्रति त्यति असन्तुष्टि देखाएनन् । २०७२ सालको नाकावन्दीले भने नेपाल र भारतको सम्वन्धमा ठुलै दरार आयो जसका बाबजुत नेपालीहरुको राष्ट्रियता झन मजबुत हुँदै गयो । एकातिर भूकम्पको ठुलो मारमा परेका नेपालीहरुलाई अर्कातिर भारतले नाकावन्दी गरि घाउँमा नुन चुक छर्किने काम ग¥यो ।
  • २) सिमाविवाद :- नेपाल भारत सम्वन्ध विग्रीनुको मख्य कारण सिमा विवाद हो । अहिले नेपाल र भारतको विचमा कालापानी, सुस्ता लगायत ७१ ठाउँमा सिमा विवाद रहेको अधिकांश ठाउँहरुमा भारतले नेपाली भूमि मिचेको छ । कालापानी लिम्पीयाधुरा र लिपुलेकमा ३७२ वर्ग किलोमिटर र सुस्तामा १४ हजार ८६० हेक्टर जमिन भारतले अतिक्रमण गरेको छ । अन्य ठाउँहरुमा बाँध निर्माण गर्दा पनि भारतले नेपालको भूमि मिचेर बनाएको छ । अन्य ठाउँको भन्दा पनि कालापानी र सुस्ताको विवाद भारतले पनि स्वीकार गरेको छ । कञ्चनपुरको ब्रह्मदेव र पुर्नवासमा ९० एक्ड जमिन भारतले नेपाललाई सट्टा–पट्टामा दिने भने पनि अहिलेसम्म दिएको छैन । यसरी नेपालको सम्प्रभुता माथि भारतले ठाडो हस्तक्षेप गरेका कारण नेपालीहरुमा भारत विरोधी भावनाको विकास हँुदै गएको छ ।
  • ३) ई.स. १९५० को सन्धि :- यो सन्धी नेपाल भारत विच ई.स. १९५० जुलाई ३१ मा मोहन सम्शेरको पालामा काठमाण्डौंमा भएको थियो । यो सन्धि नेपालको हित विपरित रहेको आम नेपालीको बुझाई छ । यो सन्धिका वारेमा बेला बेलामा नेपालले भारतसँगको बैठकमा एजेण्डा पनि बनाउने गरेको छ । वास्तवमा यो सन्धिमा नेपालको सार्वभौमिकतालाई ठुलो चोट पुग्ने बुँदाहरु छन् । यसको बुँदा नं. ५ मा नेपालले सुरक्षा सम्वन्धि कुनै पनि हातहतियार खरिद गर्दा भारतबाट खरिद गर्नुपर्ने यदि तेस्रो देशबाट खरिद गर्नुपरेमा भारतको अनुमति लिनुपर्ने व्यवस्था गरिएको थियो । यसकै बुँदा नं. ८ मा नेपाल अंग्रेजसँग भएका सबै सन्धिहरु खारेज गर्नुपर्ने सहमती पनि थियो । जसका कारण सुगौली सन्धि खारेज गर्दा नेपालको सिमाना कालीनदी भन्ने पनि खारेज भएको भारतको बुझाई छ ।
  • उक्त सन्धि अनुसार नेपाल र भारतका जनताले निर्वाध रुपमा एक अर्काको देशमा गई व्यापार गर्न पाउने सम्पत्ति राख्न पाउने समान अधिकार दिने भन्ने उल्लेख छ। जसका कारण ठुलो जनसंख्या भएको भारतका थोरै नागरिक पनि नेपालमा आइ वसेपछि पुरै भारतमय हुनेछ । भारतलाई नेपालको सम्प्रभूता आफुमा मिलाउन सजिलो हुनेछ । यो सन्धिको धारा ७ ले भारतको गोर्खालेण्डलाई समेत छुट्टै प्रदेश बनाउनमा बाधा परेको मानिएको छ । किनकी नेपाली भाषिहरु नेपाली नै हुन भन्ने अन्तर्राष्ट्रिय समुदायमा पर्न सक्छ । अहिले नेपालको माग नै १९५० को सन्धि खारेज हुनुपर्छ वा पुनरावलोकन हुनुपर्छ भन्ने रहेको छ । पछिल्लो समय सुगौली सन्धि पनि खारेज गरेर ग्रेटर नेपालको धारणा पनि धेरैले अघि सारेका छन् ।
  • ४) चीन र भारतको लिपुलेक सम्झौता :- २०६१ साल चैत्र २७ गते देखि ३० गते चीनका प्रधानमन्त्री बेनजिआवो भारत भ्रमणमा जाँदा भारत—चीनको सम्झौता पत्र दफा ५ को २ मा दुवै देशले लिपुलेकलाई व्यापारिक विन्दु बनाउने भनि हस्ताक्षर गरेका थिए । तथापि २०५६ सालमा चिनिया राजदूत जङ सुयाङले कालापानी नेपालको क्षेत्रमा पर्ने भएकोले त्रिदेशिय विन्दु पहिल्याउन तीन देशको संयुक्त वार्ता हुनुपर्ने बताएका थिए । तर २०७२ साल जेष्ठ १ गते नरेन्द्र मोदीको चिन भ्रमणका बेला दुई देश वीच ४१ बुँदे सहमती पत्रको बँुदा नं. २८ मा नेपालको सहमति विना नै दुई देशले लिपुलेकलाई व्यापार विन्दु मानेर व्यापार अगाडि बढाउने सहमति गरे । हाल आएर भारतले मानसरोवर जानेबाटो भन्दै कालापानी लिपुलेक क्षेत्रमा २२ कि.मि. बाटो बनाएको छ । जसको उद्घाटन भारतका रक्षामन्त्री राजनाथ सिंहले भर्खरै गरेका छन् । यो सम्झौतामा दुवै देशले नेपालको अस्तित्वलाई स्वीकार नगरेको देखिन्छ । जसले गर्दा नेपाली जनताको भारत विरोधी भावना चरम उत्सर्गमा पुगेको छ ।
  • ५) नेपालको प्राकृतिक स्रोत सम्पदामा भारतको कुदृष्टि :- भारतले जहिले पनि नेपालको प्राकृतिक स्रोत सम्पदामा आँखा गाडिरहेको हुन्छ । यो कुदृष्टि व्रिटिसका पालादेखि नै लाग्नै आएको छ । नेपालका नदिनालामा खासगरि भारतले बढी बजर राखेको छ । नेपालमा शासकहरुलाई विभिन्न प्रभावमा पारी भारतलाई बढी फाइदा पुग्ने र नेपाललाई थोरैमा मनाउने भारतको रणनीति रहेको छ । कोशी सम्झौता, गण्डक सम्झौता र महाकाली सम्झौता यसका उदाहरण हुन । नेपालमा राजनैतिक आन्दोलन हुने र ती आन्दोलनमा एउटा पक्षलाई उस्काई सहयोग गरि आफ्नो स्वार्थलाई पुर्ति गर्ने भारतको नियत रही आएको छ । २५ वर्ष भइसक्दा पनि भारतले पञ्चेश्वर परियोजना अगाडि बढाएको छैन । भने पश्चिम सेतीको पनि अवस्था त्यस्तै छ । किनकी त्यसमा भारतले भने अनुरुप नेपालले मानिरहेको छैन । नेपालका ठुला परियोजना आफू हत्याएर मनग्य फाइदा लिने र नेपालको प्राकृतिक स्रोत सम्पदाको दोहन गर्ने नीतिले नेपालीहरु त्रसित वनेका छन् । प्राकृतिक स्रोत सम्पदाको उपयोग भारतले आफू गर्न चाहने यदि आफूलाई त्यो मौका नमिलेमा अरु देशले परियोजना संचालन गर्न खोजेमा विगारी दिने भारतको नीति रहेको हुँदा भारतको रवैया प्रति नेपालीहरु असन्तुष्ट छन् ।
  • ६) व्यारेजहरुबाट नेपाली भूमि डुवानमा :- भारतले नेपालबाट वग्ने नदि कोशी, गण्डकी लगायत विभिन्न ठाउँमा बाँधेको बाँधले नेपालको हजारौ विघा जमिन वर्षेनी डुवानमा पर्ने गरेको छ । यसबाट भारतले कुनै क्षतिपूर्ति पनि नेपाललाई दिदैन नेपालको भूमिलाई प्रयोग गरि बनाएका ती बाँधहरुमा आफ्नो अधिपत्य जमाई नियन्त्रणमा लिएको हुँदा वर्षातको बेला नेपालीहरु साह्रै जोखिममा दिन विताउछन् । जुन कष्टको पिडाले भारत प्रति विरोधि भावनाको विकास भइरहेको छ ।
  • ७) भू–परिवेष्टित राष्ट्र नेपाललाई सहुलियत नदिएको :- नेपाल एउटा भू–परिवेष्टित राष्ट्र हो । नेपालले अन्य देशसँग व्यापार गर्दा या त भारत भएर गर्नुपर्छ या त चीनबाट । चीनबाट खर्चिलो हुने र टाढा विकटताका कारणले पनि भारतको बाटो नै नेपालका लागि सजिलो र कम खर्चिलो मानिएको कारण भारत बाटै भएर नेपालले अन्य मुलुकहरुसँग व्यापार गर्दै आएको छ । यसमा भारतले नेपाललाई जहिले पनि दुःख दिने गरेको छ । भारतसँग भएको व्यापार तथा पारवाहन सन्धिलाई नविकरण गरिरहनु पर्ने, त्यसबेला भारतले निहुँ खोजिरहने, भारतबाटै बढी व्यापार गर्न लगाउने, नेपाली मालबाहक गाडीहरुलाई दुःख दिईरहने काम गर्दछ ।
  • भारतले नेपाललाई व्यापार गर्न दुईवटा वन्दरगाहको सुविधा मात्र दिएको छ । त्यसमा पनि भारतले बेलाबेलामा हस्तक्षेप गरिरहन्छ तर चीनले नेपाललाई ४ वटा वन्दरगाह प्रयोग गर्न दिएको छ । भारतले थप वन्दरगाह प्रयोग गर्न दिने भनि गरेको बाचा वर्षौसम्म पनि पुरा गरेको छैन । नेपालको भारत भएर व्यापार गर्ने बाध्यता पनि हो । त्यो बाध्यताको भारतले सधै फाइदा उठाइरहेको हुन्छ । २०२७ र २०४५ सालमा सन्धिको म्याद सकिएका कारण नविकरण नगरि नाकावन्दी गरेको थियो । जुनकुरा अन्तर्राष्ट्रिय नियमले गर्न पाइदैन । त्यसकारण भारत प्रति नेपालीहरुको विरोधी भावनाको विकास हुँदै गयो ।
  • ८) चीनको वान बेल्ट वान रोड परियोजना :- चीनले संसारलाई नै चकिन पार्ने किसिमको संसारका ६५ देशलाई जोड्ने चीन, एसिया, युरोप, अफ्रिका सहित जोडर १४ सय अरव डलरको लगानिमा एउटा महत्वाकाँक्षी सडक परियोजना ल्याएको छ । यसको निर्माणमा ३५ वर्ष लाग्ने छ । इ.स. २०४९ सालमा सम्पन्न हुने यो परियोजना चीनले २०१५ देखि शुरु गरि सकेको छ । यो रोडको निर्माणमा जुन देशलाई छोएर जान्छ त्यो देशको सहमती अनिवार्य चाहिन्छ । नेपालले यो परियोजनामा सहमति दिईसकेको छ । चीनले पाकिस्तानसँग पनि यो रोड जोड्ने छ । भारतको जम्मु कश्मिरबाट जाने यो रोडमा भारतले विरोध गरि रहेको छ । जसका कारण भारत नेपालसँग बेला बेलामा घुमाउरो पाराले सहमती नदिन हुने कुरा दोह¥याई रहन्छ । सबैकुरा भारतको इच्छा मुताविक नेपालले गर्नुपर्ने भारतको दवाव नेपाललाई मन परेको छैन । जसका कारण नेपाल भारत सम्वन्ध चिसोपना आइरहेको छ ।
  • ९) भूकम्पको पिडा र भारतिय व्यवहार :- २०७२ साल बैशाख १२ गते नेपालमा ठूलो भूकम्प गयो, जसका कारण नेपालमा ठूलो धनजनको क्षति भएको थियो । त्यो बेला भारतको मिडियाहरुले रमिता भइरहेको जस्तो रुपमा प्रस्तुत भए । नेपालीलाई पिडा भइरहेको बेला मजाक, उपहास, रमिताको शैली अपनाएका कारण इण्डियन मिडिया ‘गो व्याक’ भन्ने नारा सहित नेपालमा लागे । अर्कातिर भारतले नेपाललाई १ खर्व वरावर सहयोग गर्ने प्रतिवद्धता जनाए पनि २०% जति पनि सहयोग गरेन, हल्ला र प्रचार मात्र बढी गरियो । उल्टा २०७२ को संविधान नेपालले जारि गर्दा आफ्नो स्वार्थ अनुरुप नभएकाले भारतले नेपालमाथि नाकावन्दी समेत लगायो । जसको फलस्वरुप नेपालीहरु अरु बेलाका भन्दा बढी भारत विरोधी हुन पुगे ।
  • १०) सीमा नाकामा नेपालीहरुलाई अनावश्यक दुःख दिने :- नेपालीहरुमा भारत विरोधी भावनाको विकास हुनुमा अर्को प्रमुख कारण सीमा नाकामा नेपालीहरुलाई भातीय सुरक्षाकर्मीहरुले अनावश्यक दुःख दिने, लुटपाट गर्ने, पैसा असुल्ने पनि हो । आर्थिक अवस्था कमजोर भएका कारण केटाकेटी पाल्न भारतमा रोजगारी गर्न गएका नेपालीहरुलाई घर फर्किदा सीमा नाकामा साह्रै दुःख हुने गरेको छ । कुटपिट, गर्ने, पैसा असुल्ने, लुट्ने, तल्लो स्तरको घटिया व्यवहार गर्ने, गाली गर्ने, स्वाभिमानमा आँच आउने कुरा गर्ने घिनौना कार्यले पनि नेपालीहरुमा भारत विरोध भावनाको विकास हुँदै गएको छ ।
  • ११) भारतले नोटहरु सटही नगरिदिएको :- भारतमा केही समय अगाडि नोट वन्दिको निर्णय गरेर १ हजार र ५ सयका चलन चल्तीका नोटहरु अप्रत्यासित रुपमा निस्कृय गरेकोले त्यो बेला नेपालमा पनि प्रशस्त भारतीय नोटहरु चलन चल्तीमा रहेका थिए । नेपाल सरकारले जम्मा गरेका अरबौं नोटहरु भारतले साँटन मानिरहेको छैन । एउटा सरकारी स्तरबाट गरेको आग्रह समेत भारतले नमानेका कारण नेपालीहरुलाई ठूलो क्षति व्यहोर्नु परेकाले भारत प्रति नेपालीहरुको आक्रोस बढीरहेको छ ।
  • १२) नेपालले उठाउने मुद्दामा भारतको उदासिनता :- नेपालले बेलाबेलामा भारतसँग उठाउने मुद्दाहरुमा भारतले आफ्नो हितमा हुने भए तदारुपता देखाउने आफ्नो हितमा छैन भने उदासिनता देखाउने गरेको छ । नेपालको हितमा हुने कैयौं एजेण्डाहरु प्रस्तुत नै नहुन दिने वातावरण बनाइ सकेको हुन्छ । उठेका मुद्दाहरुलाई पनि तल्लो कर्मचारी स्तरको समिति बनाएर वर्षौसम्म त्यसलाई थन्क्याई दिएको हुन्छ । भारतकै कारण सिमा विवाद अहिलेसम्म सुल्झिन सकेको छैन । कैयौं योजना, परियोजनाहरु अलपत्र परेका छन्, जसका कारण नेपालीहरुमा भारत विरोधी धारणा जागृत हुँदै गएको छ ।
  • १३) नेपालमा भारतले लगानी नगरेको :- भारत र त्यहाँका लगानीकर्ताहरुले संसारका अरु देशहरुमा सबै क्षेत्रमा ठूलो लगानी लगाएका छन् र लगाउने गरेका छन् तर नेपालमा भारतियहरुको लगानी थोरै मात्रामा त्यो पनि विभिन्न शर्तहरु तेस्र्याएर गर्ने गरेको छ । विभिन्न भ्रमण र बैठकमा आश्वासन दिने मित्र राष्ट्र, दाजुभाइ भनेर मुखले भन्ने, फकाउने व्यवहारमा नगर्ने भारतको रवैयाले भारत र भारतीयहरु प्रति नेपालीहरुको वितृष्णा जाग्दै गएको छ ।
  • १४) नेपाली चेलिवेटी बेचविखनका लागि भारत गन्तव्य :- नेपालबाट वर्षेनी धेरै संख्यामा नेपाली चेलिवेटिहरु वेचविखनका सिकार भइरहेका हुन्छन् । जसको गन्तव्य भारत रहँदै आएको छ । नेपालबाट भारत वा अन्य मुलुकसम्म मानव वेचविखनको अन्तर्राष्ट्रिय कडा कानून छ तर भारतमा अपवाद बाहेक निर्वाध रुपमा नेपाली चेलिबेटीहरु कोठीहरुमा पुगिरहेका हुन्छन् । भारतको दिल्ली, वम्बै ठुला शहरहरुमा नेपाली चेलीवेटीहरुले नारकिय जीवन विताइ रहेका छन् । यसका लागि भारत कडा रुपमा प्रस्तुत भएर उद्दार गर्ने तथा रोक्ने कुरामा उदासिन झै देखिन्छ । जसकारण नेपालीहरुमा भारत विरोधी भावना विकास भएको छ ।
  • १५) नेपालले चीनसँग सम्वन्ध तोडनु पर्ने :- भारतले नेपाललाई चीनको पक्षमा कहिल्यै नजावोस भन्न चाहन्छ । नेपालको असंलग्न परराष्ट्र निति भएकोले भारत त्यस्तो रुचाउँदै र भारत स्वतन्त्र तिब्बतका पक्षमा छ भने नेपालले एक चीनको नीति लिएको छ । व्यापार व्यवसाय तथा लगानी योजना परियोजनाहरु पनि चीनले नेपालमा संचालन नगरोस् भनि भारत चाहन्छ तर नेपालले चीनसँग पनि उत्तिकै सम्वन्ध राखेकोले भारत चिढाउने गरेका कारण नेपालीहरुको मन भारत प्रति खिन्न भएको छ ।
  • १६) अन्य :
  • इ.स. १९७५ अप्रेल ६ का दिन जव भारतीय सेनाहरुले सिक्किमका राजालाई आफ्नो कब्जामा लिई सिक्किम भारतको सम्प्रभुतामा मिलाएको घोषणा गरायो, तव नेपालीहरुलाई पनि भारतले नेपाललाई आफ्नो कब्जामा लिन सक्ने आशंकाले त्रसित मानसिकता रहेको छ । वास्तवमा भारतको नीति नै विस्तारवादी हो भन्ने कुरा प्रमाणित हुँदै आएको छ । यो कुरा वर्तमानमा चर्केको कालापानी मुद्दाले पनि प्रष्ट हुन्छ ।
  • २००७ सालमा जव नेपालमा प्रजातन्त्र आयो त्यो बेला देखि नै भारतले नेपाललाई पूर्ण रुपमा आफ्नो नियन्त्रणमा राखि राख्ने रणनीति लिएको देखिन्छ । एकताका नेपालको संसद भवनमा समेत भारतको प्रतिनिधिको उपस्थिति गराइन्थ्यो । नेपालको १७ वटा ठाउँहरुमा सुरक्षाको लागि भनेर भारतीय सेनाहरु पोष्ट खडा गरेर वसेका थिए । नेपालको सरकार परिवर्तन गरि दिने व्यवस्था नै बदल्न सक्ने किसिमको प्रभाव भारतले राख्न थाले पछि नेपालहरुको भारत प्रति सधैं संसंकित धारणा रहँदै गयो । नेपाली नेताहरुलाई विभिन्न प्रभाव र प्रलोभनमा पारि भारतले एकछत्र राज चलाउँदै गरेको व्यवहारमा छर्लङ्ग देखिन्छ ।
  • सानो तिनो ऋण अनुदान, सहुलियत, भौतिक पूर्वाधार, छात्रवृत्ति आदि–आदि कुरामा नेपालीहरुलाई फकाउँदै नेपाल माथिको प्रभुत्व कायम राखि राख्न भारत सफल हँुदै आएको छ । भनिन्छ अहिले पनि नेपाली नेताहरु, उच्च ओहदाका व्यक्तिहरु, व्यापारी, बृद्धिजिवी भारतको एजेण्टको रुपमा नेपालमा काम गर्दैछन् । भारतले यो गरि दिन्छ त्यो गरि दिन्छ भन्ने तर कहिलै नगर्ने देखावटीका लागि मात्र केही गरे जस्तो गर्ने व्यवहार भारतको रहेको छ । नेपालीहरुलाई भारतको सरकारी विभिन्न क्षेत्रमा रोजगारी दिने भने पनि थोरै मात्र सेनामा दिने अवसर बाहेक कुनै क्षेत्रमा नेपालीलाई सरकारी रोजगारी दिएको छैन ।
  • रेल र पानी जहाज नेपालमा पुगाई दिने मात्र भन्ने आफ्नो स्वार्थ पुरा भएपछि ध्यान नदिने व्यवहारले पनि एक्काइसौं शताब्दीका नेपाली जनतामा अहिलेसम्म भारतले ठगि रहेको, विस्तार वादी नीति लिएको हेपेको, दलेको, लुटन खोजेको हडप्न खोजेको सबै कुराको चेतनाको विकास भइसकेकोले नेपाली जनता भारत विरोधी मानसिकतामा पुगेको देखिन्छ । अन्तर्राष्ट्रिय नीति नियम मान्ने, समानताको व्यवहार गर्ने, नेपालको भूमि माथि गिद्दे दृष्टि नलगाउने, अतिक्रमित भु–भाग, छोडि दिने, भारतमा आउन जान नेपालीलाई दुःख नदिने र नेपालको सार्वभौमिकताको भारतले उच्च सम्मान गर्ने नीतिहरु अपनाएर मात्र भारतसँग दिगो मित्रताको सम्भावना रहेको छ, होइन भने नेपाल–भारत सम्वन्धमा अध्यारा दिनहरु आउन धेरै टाढा छैन।
  • लेखक – जनक सिंह धामी नेपाली काँग्रेस कञ्चनपुरका जिल्ला सदस्य हुन । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *