काठमाडौँ — सीमा सुरक्षार्थ तैनाथ सशस्त्र प्रहरी बल (एपीएफ)का ४ जना बाहिनीपति (डीआईजी)हरुले व्यवस्थित पूर्वाधार र पर्याप्त जनशक्ति नहुँदा सीमा सुरक्षा तथा मौसमी प्रतिकूलताविरुद्ध जुध्न कठिन भएको बताएका छन् । सीमा सुरक्षा र कोरोना भाइरसविरुद्ध नाका सिल गर्न खटिएका सुरक्षाकर्मी खुल्ला आकाश र पालमा बस्नु परेको भन्दै वर्षायाम अगावै व्यवस्थित अस्थायी पूर्वाधारको व्यवस्थापन गर्न पनि उनीहरुले आग्रह गरेका छन् ।
सोमबार सशस्त्र प्रहरी महानिरीक्षक शैलन्द्र खनालले ७ वटै प्रदेशका बाहिनीपतिहरुसँग भिडियो कन्फरेन्समार्फत सीमा क्षेत्रको बस्तुस्थितिबारे जानकारी लिएका थिए । त्यसक्रममा प्रदेशस्थित सशस्त्र प्रहरी प्रमुखहरुले पानी पर्दा ओतसमेत लाग्ने ठाउँ नभएको, चेकप्वाइन्टमा खटिएकामाथि सीमापारिबाट आक्रमण प्रयास भइरहेको तर पाल र खुल्ला आकाशमुनि बसेर त्यसको प्रतिरोध गर्न कठिन भएको भन्दै गुनासो पोखेका थिए ।
‘बर्खा लागिसक्यो, लामखुट्टे र सर्पको उत्तिकै जोखिम छ, चेकप्वाइन्टमा खटिनेले पालमुनी बसेर रात बिताउनु परेको छ,’ एक बाहिनीपतिको भनाइ उद्धृत गर्दै सशस्त्र प्रहरी स्रोतले भन्यो, ‘पाल र खुल्ला आकाशबाट मुक्त गराएर प्रिफ्याब हाउसको व्यवस्था होस्, अनिमात्रै सीमा सुरक्षामा दत्तचित्त भएर लाग्न सहज हुन्छ ।’
सीमापारिबाट नेपाल छिर्न ठूलो संख्यामा दशगजा क्षेत्रमा भीड लागिसकेको र उनीहरुलाई सीमानामा रोकिराख्दा झनै जोखिम बढ्ने भन्दै यसका लागि वैकल्पिक व्यवस्था गर्न पनि सुझाव दिएका छन् । उनीहरुले वर्षायाममा सीमा चेकप्वाइन्ट गाभेर खटिनुपर्ने अवस्था रहेको तर बस्ने बासस्थान त्यसअनुसार नभएको पनि जानकारी गराएका छन् ।
बाहिनीपतिहरुले सीमा क्षेत्र अतिक्रमणको जोखिममा समेत रहेकोले के–कस्तो व्यवस्थापन गर्ने भन्नेमा सरकारले प्रभावकारी कदम चाल्न आवश्यक रहेको पनि बताएका थिए । त्यसक्रममा उनीहरुले जग्गा नभए भाडामा स्थान पहिचान गरी अस्थायी संरचना बनाउनुपर्ने पनि सुझाव दिएका थिए । बाहिनीपतिहरुले मातहत क्षेत्रको ब्रिफिङ गरेपछि आईजीपी खनालले पाल र खुल्ला आकाशमा बस्नुपर्ने बाध्यता हटाउन प्रिफ्याब हाउसको व्यवस्था गर्न गृह मन्त्रालयलाई जानकारी गराइसकिएको बताएका थिए ।
भारतसँग १ हजार ८ सय ८० किलोमिटर लम्बाइ सीमा क्षेत्र जोडिएकोमा १,२, ५ र सुदूरपश्चिम प्रदेशअन्तर्गतका जिल्लाले मात्रै १७ सय ८५ किलोमिटर लम्बाइ ओगट्छन् । त्यसमध्ये १ नम्बर प्रदेशमा ४ सय ४० किमि, २ मा ४ सय ३५, ५ नम्बर प्रदेशमा ४ सय ४५ र सुदूरपश्चिम प्रदेशका जिल्लाले ४ सय ६८ किमि क्षेत्र ओगट्छन् ।
वाग्मती र गण्डकीले क्रमश: ८८ र ४ किलोमिटर मात्रै दूरीमा सीमा ओगटेका छन् । कर्णाली प्रदेशको सीमा भारतसँग जोडिएको छैन । दक्षिणी सीमा सुरक्षामा १ सय २० बीओपी तैनाथ गरिए पनि ४१ स्थानमा मात्रै सशस्त्र प्रहरीका स्थायी प्रकृतिका संरचना छन् । बाँकी भने भाडा र सरकारी कार्यालय अस्थायी रुपमा प्रयोग गरिएको सशस्त्रले जनाएको छ ।

