३८४ किट धनगढी पुगाइयो, आजदेखि कोरोना परीक्षणलाई तिव्रता दिने दावी

समाचार

धनगढी : किटको मौज्दात सकिएपछि सुदूरपश्चिममा रोकिएको कारोना परीक्षण आजदेखि फेरी सुरु हुने भएको छ। संघीय सरकारले किट पठाएपछि आजदेखि पुनः कोरोना परीक्षण सुरु हुने भएको हो।

सामाजिक विकास मन्त्रालयका अनुसार संघीय सरकारले पठाएको तीन सय ८४ वटा आरएनए एक्पेक्सन किट शुक्रवार राती धनगढी पुगेको हो।

किट स्वास्थ्य आपूर्ती व्यवस्थापन केन्द्रले पाईसकेको बताउँदै सामाजिक विकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख नरेन्द्र कार्कीले आजदेखि रोकिएको कोरोाना परीक्षणलाई तिव्रता दिने बताए।

उनले पीसीआर किटको मौज्दाता रहेको र आरएनए एक्पेक्सन किट संघीय सरकारले पठाएसंगै अब परीक्षणमा कुनै समस्या नआउने बताए।

धनगढीको पशु अन्वेषण प्रयोगशालामा स्थापना गरिएको आरटी–पीसीआर मेसिन मार्फत हुने कोरोना परीक्षण किट अभावका कारण रोकिएको थियो।

परीक्षण रोकिएपछि विभिन्न जिल्लाबाट शंकास्पद ५० बढिको थ्रोट स्वाबको नमूना संकलन गरी प्रयोगशालामा पठाईएकोमा थन्काईएको थियो। किट पाएपछि परीक्षणलाई तिव्रता दिने प्रयोगशालाका ईन्चार्ज रमेश शाहीले पनि बताए।

प्रयोगशाला स्थापना भएकै दिनदेखि किट र नमूना पर्याप्त नहुँदा क्षमता अनुसार परीक्षण हुन सकेको छैन्। अहिले सम्म सुदूरपश्चिम प्रदेशका दुई हजार नौँ सय २३ जनाको कोरोना परीक्षण गरिएको छ।

परीक्षण गरिएका मध्ये पाँच जनामा संक्रमण देखिएकोमा अहिले सबै कोरोनालाई जितेर घर फर्किसको छन्।

धनगढीमा स्थापना भएको प्रयोगशाला मार्फत अहिले सम्म छ सय सात जनाको परीक्षण भएको छ भने राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला मार्फत सुदूरपश्चिम प्रदेशका दुई हजार तीन सय १६ जनाको परीक्षण भएको छ। सुदूरपश्चिम प्रदेशमा १४ हजार छ सय ९१ जनाको र्यापिड टेस्ट पनि गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *