बैतडी – गएको चैत्र १ गतेदेखि वैशाख तेस्रो हप्तासम्म बैतडीमा भारतबाट ६ हजार ९१ जना भित्रिएका छन् । गएको चैत महिनादेखि अहिलेसम्म विभिन्न नाकाबाट ६ हजार ९१ जना बैतडी भित्रिएको सहायक प्रमुख जिल्ला अधिकारी लोकेन्द्रसिंह नेगीले जानकारी दिनुभयो ।
लकडाउनपछि जिल्ला भित्रिएकामध्ये पनि एक हजारभन्दा बढी नागरिकको कोरोना परीक्षण गर्न बाँकी नै छ । यद्यपि ती नागरिक क्वरेण्टीनमा बसिरहेका सहायक प्रमुख जिल्ला अधिकारी नेगीले बताउनुभयो । चार सय ३० जनाको थ्रोट स्वाब सङ्कलन गरेर कोरोना परीक्षण गरिएको हो भने सात सय ९० जनाको द्रूत परीक्षण गरिएको हो । कोरोना जाँच गरिएका सबैको रिपोर्ट भने नेगेटिभ आएको छ ।
बेतडीमा भारतबाट फर्किएका सबै नागरिकको कोरोना परीक्षण गर्ने कोरोना भाइरस सङ्क्रमण रोकथाम नियन्त्रण जिल्ला संयन्त्रको बैठकले निर्णय गरेको भए पनि आरडीटी किटको अभावमा सबैको परीक्षण गर्न नसकिएको स्वास्थ्य कार्यालयका प्रमुख योगेशप्रसाद भट्टले बताउनुभयो । बैतडीका विभिन्न पालिकाको क्वरेण्टीनमा अहिले एक हजार तीन सय २४ जना बसिरहेका छन् ।
यही वैशाख १८ गते उद्धार गरिएका नागरिक क्वरेण्टीनमा बसेको एक हप्ता हुँदासम्म पनि कोरोना परीक्षण कसरी गर्ने भन्ने टुङ्गो लागेको छैन । क्वरेण्टीनमा बसेका नागरिकहरुले भने आफूहरुको छिटो जाँच गर्नुपर्ने बताएका छन् । भारतबाट फर्केका नागरिकहरुको आरडीटी गर्ने वा थ्रोट स्वाब सङ्कलन गर्ने भन्ने अहिलेसम्म टुङ्गो लाग्न सकेको छैन ।

