बारा – बाराको कबहीगोठस्थित नेपाल–भारत सीमानामा नेपाल प्रवेश गर्न खोज्ने भारतीय नागरिकले हातपात र ढुंगामुढा गरेपछि सशस्त्र प्रहरीले हवाई फायर गरेको छ। भारतबाट दुइवटा गाडीसहित नेपाल प्रवेश गर्न खोज्ने भारतीय नागरिकले हातपात र ढुंगामुढा गरेपछि सशस्त्र प्रहरीले हवाई फायर गरी भीडलाई तितरबितर पारेको छ।
गाडी प्रवेश गर्न नपाएपछि करिब डेढ सयको संख्यामा भारतीय नागरिक सशस्त्र प्रहरीको चेक प्वाइन्टमा ढुंगामुढा गर्न आएका थिए। त्यही क्रममा सशस्त्रले हवाई फायर गरी भीडलाई भारततफै फर्काएको बाराका प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डितले जानकारी दिए।
उनका अनुसार नेपालमा खेतबारी भएका ती भारतियहरुले प्रवेश गर्न दिनुपर्ने अडान लिएका थिए। तर उनीहरुलाई प्रवेश गर्न नदिएपछि आक्रोसमा ढुंगामुढा गरेको प्रमुख जिल्ला अधिकारी पण्डितले जानकारी दिए। अहिले त्याँहाको अवस्था सामान्य रहेको उनले बताएका छन्।


