‘कुवेतको महाबुलामा गैरकानुनी रुपमा बस्दै आएका नेपाली आममाफीमा सहभागी हुन पाउने’

अन्तर्राष्ट्रिय

काठमाडौँ — कुवेतस्थित नेपाली दूतावासले कुवेतको महाबुला क्षेत्रमा बस्ने  गैरकानुनी हैसियतका नेपाली कामदार आममाफीमा सहभागी हुने व्यवस्था मिलाइरहेको जनाएको छ । कुवेत सरकारले नेपालीका लागि छुट्याएको पहिलो दिन महाबुलामा बस्ने नेपालीले ट्राभल डकुमेन्ट र आममाफीको लागि आवेदन दिन पाएका थिएनन् ।

महाबुलाको ब्लक नम्बर ३ मा स्थानीय स्वयंसेवीमार्फत दूतावासमा आवेदन दिन भेला भएका नेपालीलाई स्थानीय प्रहरीले आइतबार लखेटेको थियो।

कुवेतका लागि नेपाली राजदूत दुर्गाप्रसाद भण्डारीले महाबुलामा रहेका नेपालीले आवेदन दिन पाउने गरी कुवेती अधिकारीहरुसँग कुराकानी भइरहेको बताए। ‘उहाँहरु आममाफीमा सहभागी हुन पाउनुहुन्छ। हामीसँग अझै चार दिनको समय छ,’ राजदूत भण्डारीले कान्तिपुरलाई भने,‘यथासक्य छिटो आवेदन दिन पाउने वातावरण बन्नेछ।’

सक्कली राहदानी नभएकालाई ट्राभल डकुमेन्ट हात परेपछि मात्रै रोजगारदातालाई छोडेर हिँडेका कामदार आममाफीको लागि तोकिएको केन्द्रमा गई आवेदन बुझाउन पाउनेछन्।

कोरोना भाइसर संक्रमणको जोखिम क्षेत्र रहेको महाबुलामा लकडाउन भएपछि दूतावासले स्वयंसेवी मार्फतट्राभल डकुमेन्टका लागि आवेदन लिने तयारी गरेको थियो। तर, आवेदन बुझाउन गएका ६ सयभन्दा बढी नेपालीलाई प्रहरी प्रशासनले लखेटेको छ। ‘बिहानदेखि नै महाबुलाको ब्लक ३ मा रहेको खाली ठाउँमा ६ सय नेपाली भेला भइसकेका थिए। ‘हामी आवेदन फर्म लिने तयारीमा थियौं। स्थानीय प्रहरीले त्यहाँबाट सबैलाई हटायो,’ दूतावासले खटाएका स्वयंसेवी डम्बर रिमालले कान्तिपुरसँग भने, ‘आवेदन बुझ्न नसक्ने अवस्था आएपछि धेरै नेपाली निरास भई फर्केका थिए।’

कुवेतले आममाफी प्रक्रियामा सहभागी हुनको लागि नेपालीका लागि जम्मा चार दिन मात्रै समय तोकेको छ। पहिलो दिन खेर गएका भन्दै नेपालीहरु दतावासप्रति असन्तुष्टि भएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *