बैतडीमा कोरोना परीक्षण प्रयोगशाला स्थापना हुने

विशेष

बैतडी : जिल्ला अस्पताल बैतडीमा कोरोना परीक्षणका लागि प्रयोगशाला स्थापना हुने भएको छ। प्रयोगशाला स्थापनाका लागि  विज्ञहरूको टोलीले  सम्भाव्यता अध्ययनसमेत गरेको  छ। सुदूरपश्चिम प्रदेश सरकारले जिल्ला अस्पताल बैतडीमा पनि कोरोना परीक्षणका लागि पीसीआर ल्याब स्थापना गर्ने निर्णय गरेको सो सम्भाव्यता अध्ययन गर्न टोली बैतडी पुगेको हो।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाका भाइरोलोजिष्ट डाक्टर श्रवण कुमार मिश्र नेतृत्वको टोलीले अस्पतालमा ल्याब स्थापनाका लागि सम्भाव्यता अध्ययन गरेको जिल्ला अस्पताल बैतडीका प्रमुख डा. वसन्तराज जोशीले जानकारी दिए। टोलीमा डा. मिश्रसँगै डडेल्धुरा अस्पतालका ल्याब इन्चार्ज ईश्वरीप्रसाद भुषाल पनि बैतडी पुगेका थिए। जिल्ला अस्पतालमा पिसीआर ल्याब स्थापना गर्ने कुराले आफूहरूलाई उत्साहित बनाएको डाक्टर जोशीको भनाइ छ।

प्रयोगशाला सञ्चालनमा आएमा कोरोनाको मात्रै नभएर अन्य मलिकुलर चेकजाँचका लागिसमेत सजिलो हुने डडेल्धुरा अस्पतालका ल्याब इन्चार्ज ईश्वरीप्रसाद भुषालले जानकारी दिए। जिल्ला अस्पतालको ५० शैइयाको भवन निर्माण कार्यसमेत जारी रहेकाले ल्याब स्थापना हुने कुराले भविष्यमा जिल्ला अस्पतालले प्रदान गर्ने सेवालाई प्रभावकारी बनाउन सहयोग पुग्ने विश्वास गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *