कैलालीमा कोरोना परीक्षणपछि मात्र थुनुवालाई अदालत उपस्थित गराईदै

समाचार

कैलालीमा कोरोना भाईरस (कोभिड–१९) को परीक्षणपछि मात्र थुनुवालाई अदालतमा उपस्थित गराईन थालेको छ। जिल्ला प्रहरी कार्यालयले विभिन्न मुद्दामा अनुसन्धानका लागि नियन्त्रणमा लिने थुनुवाको कोरोना भाईरसको परीक्षण गरेर मात्र अदालतमा उपस्थित गराउने व्यवस्था मिलाईएको जनाएको छ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरिक्षक दक्षकुमार बस्नेतले शुक्रबार मात्र अनुसन्धानका लागि पक्राउ गरिएका ११ जनाको कोरोना परीक्षणका लागि नमूना संकलन गरिएको जानकारी दिए।

प्रहरी प्रधान कार्यालयले मातहतका कार्यालयलाई अनुसन्धानका लागि नियन्त्रण लिईने व्यक्तिको कोरोना परीक्षण अनिवार्य गर्ने, कोरोनाको शंकास्पद व्यक्तिलाई हिरासतमा राख्दा अन्यसँग सम्पर्कमा नआउने गरी छुट्टै राख्ने व्यवस्था मिलाउन समेत चैत ४ गते निर्देशन दिएको थियो।

अदालतमा अभियोगपत्र दर्ता भई थुनछेक हुन बाँकी रहेका मुद्दाका अभियुक्तको पनि परीक्षण अनिवार्य गरिएको छ। जिल्ला प्रहरी कार्यालय कैलालीले समेत सोही अनुसार कोरोना भाईरसको परीक्षण गराउँन थालेको हो। तर थुनुवा मात्र नभएर उनीहरुसँग सम्पर्कमा जाने सुरक्षाकर्मीको समेत परीक्षण गर्नुपर्ने माग गरिएको छ।

अभियुक्तलाई पक्राउ गर्न तथा परीक्षणका लागि अस्पताल पुगाउने सुरक्षाकर्मी समेत जोखिममा हुने भन्दै परीक्षणको व्यवस्था मिलाउनुपर्ने माग भईरहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *