काठमाडौँ — देशका विभिन्न ठाउँबाट आरडीटी विधिबाट कोरोना पोजिटिभ देखिएकोलाई पीसिआर विधिबाट परीक्षण गर्दा नेगेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
नियमित मिडिया ब्रिफिङका क्रममा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले बिहीबार कुनै संक्रमित नभेटिएको जनाएका हुन् ।
मन्त्रालयका अनुसार हालसम्म नेपालमा कोरोना संक्रमितको संख्या १६ रहेको छ । हाल टेकु अस्पतालमा २ जना, पाटन अस्पतालमा २ जना, धौलागिरी अस्पतालमा २ जना, धनगढीको सेती अस्पतालमा ५ जना तथा वीरगन्जको नारायणी अस्पतालमा ४ जना उपचाररत छन् ।
बिहीबारसम्म देशभर आरडीटी विधिबाट हालसम्म १२ हजार १ सय ९२ परीक्षण भएका छन् भने पीसीआर विधिबाट ७ हजार २ सय ४० नमुना परीक्षण भएका छन् । हालसम्म दुवै आरडीटी र पीसीआर विधिबाट १९ हजार ४ सय ३२ वटा परीक्षणहरु भएका छन् ।
त्यसैगरी, आजको अपडेटमा आइसोलेसनमा देशभरी १ सय ३ जना रहेका छन् । काठमाडौंमा ८ जना आइसोलेसनमा छन् भने उपत्यका बाहिर ९५ जना रहेका छन् । क्वारेन्टाइनमा ४ हजार ९ सय १ जना रहेका छन् ।
मिडिया ब्रिफिङका क्रममा बोल्दै औषधी व्यवस्था विभागका महानिर्देशक नारायणप्रसाद ढकालले औषधीको ढुवानी, उपलब्धता, गुणस्तरीयताको लागि अनुगमन गरिरहेको बताए ।
उनले समय मिलाएर फार्मेसी सञ्चालन गर्ने प्रबन्ध मिलाइएको बताए । भविष्यमा आवश्कयता हुन सक्ने खालका र अभाव हुन नदिन १ सय ८९ वटा औषधीको खरिद पक्रियाको लागि अघि बढाइएको समेत उनले जानकारी दिए ।

