बाँके : नेपाल–भारत सीमा क्षेत्र दशगजास्थित क्वारेन्टाइनमा राखिएका एक सय ८१ जनाको कोरोना भाइरस परीक्षण रिपोर्ट नेगेटिभ आएको छ। उनीहरुको र्यापिड डाइग्नोस्टिक टेस्ट (आरडिटी) बाट परीक्षण गरिएको थियो। लकडाउनका बेला भारतबाट आउने क्रममा नेपाल–भारतका सुरक्षाकर्मीले भारतीय क्वारेन्टाइनमा पठाउन खोज्दा उनीहरु बन्दुकको गोली खाए पाए पनि भारतीय क्वारेन्टाइनमा नजाने अडान लिएपछि उनीहरुलाई दशगजास्थित निर्माणाधीन एकीकृत जाँच चौकी (इसिपी) को मैदानमा क्वारेन्टाइन बनाएर राखिएको थियो।
क्वारेन्टाइनमा १५ दिन पूरा गरेपछि सबैको एकैसाथ आरडिटी प्रणाली मार्फत कोरोना परीक्षण गरिएको नेपालगन्ज उपमहानगरपालिका स्वास्थ्य शाखा प्रमुख रामबहादुर चन्दले बताए। रिपोर्ट नेगेटिभ देखिएपछि सबैलाई बिहीबारै घर फर्काइएको छ।भेरी अस्पताल, नेपालगन्ज मेडिकल कलेज र उपमहानगरबाट खटिएका स्वास्थ्यकर्मीको टोलीले करिब चार घण्टा लगाएर उनीहरुको कोरोना परीक्षण गरेको थियो।
रिपोर्ट नेगेटिभ आएपछि खुसी क्वारेन्टाइनमा राखिएकाहरु सबै भारतबाट मजदुरी गरेर फर्किदै गरेका नेपाली हुन्। १५ औं दिनमा गरिएका परीक्षणमा सबैको रिपोर्ट नेगेटिभ आएपछि क्वारेन्टाइनमा बसेका सबै खुसी भएका छन्। थप १५ जनाको स्वाब परीक्षणका लागि पठाइयो बाँके जिल्लाका विभिन्न अस्पतालको आइसोलेसनमा उपचाररत कोरोना भाइरस शंकास्पद १५ जनाको थ्रोट स्वाब परीक्षणका लागि पठाइएको छ।
बुधबार नमुना संकलन गरी भैरहवा पठाइएको जिल्ला स्वास्थ्य कार्यालय, बाँकेका प्रमुख धीरजंग शाहले जानकारी दिए। भेरी अस्पतालबाट तीन, नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगन्जबाट आठ र नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरबाट चार गरी जम्मा १५ जनाको स्वाब परीक्षणका लागि भैरहवास्थित प्रदेश ५ प्रयोगशालामा पठाइएको शाहले बताए।
दुई सय ७९ जनाकै रिपोर्ट नेगेटिभ हालसम्म बाँकेका विभिन्न अस्पताल र विभिन्न क्वारेन्टाइनबाट गरी दुई ७९ जनाको कोरोना परीक्षण भएको छ। कोरोना परीक्षण गरिएका सबैको नतिजा नेगेटिभ आएको उनले बताए। पिसिआर बिधिबाट ७६ र र्यापिड बिधिबाट २ सय ३ जनाको कोरोना परीक्षण गरिएको र सबैको रिपोर्ट नेगेटिभ देखिएको हो।

