डडेल्धुरा : सुदूरपश्चिम प्रदेशमा २ हजार ९ सय ४१ जनाको कोरोना संक्रमण परीक्षण गर्न र्यापिड टेस्ट गरिएको छ। कैलालीमा १ हजार ५ सय २१, कञ्चनपुरमा ४ सय १५, बैतडीमा एक सय ४२, दार्चुलामा ५८, डडेल्धुरामा ९, डोटीमा दुई सय ७१, बझाङमा चार सय ६१, अछाममा १, बाजुरामा ६३ जनाको र्यापिड टेस्ट गरिएको हो। सबैको रिपोर्ट नेगेटिभ आएको प्रदेश स्वास्थ्य स्वास्थ्य आपतकालिन केन्द्रले जनाएको छ।
र्यापिड टेष्टमा भने कोभिड १९ ले संक्रमण गरेको शरीरले उत्पादन गर्ने ‘एन्टीबडी’को मात्रा परीक्षण गर्ने गरेको छ। यो परीक्षण प्रविधि पीसीआरभन्दा कम विश्वसनीय हुन्छ। र्यापिड टेष्टमा पोजेटिभ देखाएपनि पुष्टिका लागि पीसीआर परीक्षण गर्नैपर्ने हुन्छ। हालसम्म सुदूरपश्चिमका विभिन्न अस्पतालको आइसोलेसनमा राखिएका ७४ जनालाई डिस्चार्ज गरिएको छ।
उनीहरुको कोरोना परीक्षण रिपोर्ट ‘नेगेटिभ’ आएपछि डिस्चार्ज गरिएको हो। अहिले प्रदेशका विभिन्न सात वटा अस्पतालमा १८ जनालाई आइसोलेसमा राखिएको छ। जस्मा ५ जना कोरोना संक्रमित छन् भने बाँकी १३ जनालाई कोरोनाको आशंकामा आइसोलेसमा राखिएको हो। मंगलबारसम्म सेती प्रादेशिक अस्पतालमा कोरोना संक्रममित पाँचसहित ६ जना, डडेल्धुरा अस्पतालमा ५, जिल्ला डोटी अस्पतालमा ३, जिल्ला अस्पताल बैतडी, गोकुलेश्वर अस्पताल दार्चुला, बयलपाटा अस्पताल अछाम र चौमाला प्राथमिक स्वास्थ्य केन्द्र कैलालीमा १–१ गरी १८ जनालाई आइसोलेसमा राखिएको जनाइएको छ।
उनीहरुको परीक्षण रिपोर्ट आउन बाँकी रहेको छ। डोटीबाहेक सुदूरपश्चिमका अन्य आठ जिल्लामा १ हजार ८३ जनालाई विभिन्न क्वारेन्टाइनमा राखिएको छ। जसमा १ हजार ९ पुरुष, ६९ महिला र ५ जना बालबालिका रहेका छन्। कैलालीको लम्कीचुहा नगरपालिका–१ भुरुवाकी ६५ वर्षीया वृद्धामा कोरोना पुष्टि भएसँगै सुदूरपश्चिममा संक्रमितको संख्या पाँच पुगेको छ। यसअघि दुबईबाट आएका धनगढीका युवक, उनकी भाउजू, भारतबाट फर्किएका लम्कीकै एक पुरुष र भारतबाटै फर्किएका कञ्चनपुरका अर्को पुरुषमा कोरोनाको संक्रमण पुष्टि भइसकेको छ। उनीहरू सबै सेती प्रादेशिक अस्पतालमा उपचाररत छन्।

