सङ्क्रमण नदेखिए पनि एक हप्ता क्वरेन्टीनमा बस्नुपर्ने

समाचार

काठमाण्डौ – क्वरेन्टीनमा १४ दिन बसेर पनि कोरोना भाइरसको सङ्क्रमण नदेखिएका व्यक्ति पनि थप सात दिन घरमै क्वरेन्टीनमा बस्नुपर्ने भएको छ ।स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जारी गरेको ‘कोभिड १९को प्रयोगशाला जाँचको राष्ट्रिय निर्देशिका-२०७७’ मा यस्तो व्यवस्था गरिएको हो ।

निर्देशिकामा विदेशबाट आएका र क्वरेन्टीनमा १४ दिनदेखि बसिरहेका कोभिड–१९ को लक्षण चिह्न नदेखिएका व्यक्ति घरमा थप एक हप्ता क्वरेन्टीनमा बस्नुपर्ने व्यवस्था गरेको छ । मन्त्रालयका स्वास्थ्य विज्ञ सल्लाहकार डा खेम कार्कीले परीक्षणलाई व्यवस्थित बनाउन निर्देशिका जारी गरिएको बताउनुभयो ।

निर्देशिकामा प्रयोगशाला परीक्षणबाट पोजेटिभ (सङ्क्रमित) भएका व्यक्तिको सम्पर्क वा संसर्गमा आएका तर घरमै क्वरेन्टीनमा बसेका, १४ देखि २१ दिन पुगेका र कोभिड–१९ को लक्षण चिह्न नदेखिएका व्यक्ति पनि र्यापिड टेस्टबाट परीक्षण गर्ने उल्लेख छ ।

क्वरेन्टीनबाट घर पठाउने अवधि पुगेका र क्वरेन्टीनमा बसेको १४ दिनभन्दा अघि नै आरटी पीसीआर विधिबाट जाँच गर्दा नेगेटिभ रिपोर्ट आएका व्यक्तिको पनि १४ देखि २१ दिनमा परीक्षण गर्ने उल्लेख गरिएको छ ।

पीसीआरबाट अस्पताल वा स्वास्थ्य संस्थामा कोभिड-१९ का शङ्कास्पद वा सङ्क्रमित बिरामीको उपचारमा संलग्न चिकित्सक, नर्स, प्रयोगशालाकर्मी र अन्य कर्मचारी कोभिड–१९ को लक्षण र चिह्नहरू देखिएका स्वास्थ्यकर्मीले अनिवार्य गर्नुपर्ने उल्लेख छ ।

प्रयोगशाला परीक्षणबाट पोजेटिभ (सङ्क्रमित) भएका व्यक्तिको सम्पर्क वा संसर्गमा आएका लक्षण र चिह्न नदेखिएका व्यक्ति (संसर्गमा आएको ५-१४ दिनभित्रमा परीक्षण गर्ने) निर्देशिकामा उल्लेख गरिएको छ ।

अस्पतालमा भर्ना भएका निमोनिया र इन्फ्लुएन्जा माहामारी भएको क्षेत्रका इन्फ्लुएन्जा नभएका १० प्रतिशत नमुना, द्रुत परीक्षण किटबाट परीक्षण गर्दा पोजेटिभ आएका र सोही प्रक्रियाबाट परीक्षण गर्दा नेगेटिभ आएकामध्ये १० प्रतिशत नमुनाको पनि पीसीआरबाट परीक्षण गर्ने निर्देशिकामा उल्लेख गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *