कोरोना भाइरसको महामारी समाप्‍त नभएसम्म प्रधानमन्त्रीले पारिश्रमिक नलिने

समाचार

काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकमा कोरोना भाइरस(कोभिड-१९) को महामारी नियन्त्रण नभएसम्म पारिश्रमिक नलिने घोषणा गरेका छन् । नयाँ वर्ष २०७७ का अवसरमा सोमबार शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री ओलीले कोरोना समाप्त नभएसम्मका लागि आफूले पाउने पारिश्रमिक ‘कोभिड–१९, प्रधानमन्त्री राहत कोष’मा जम्मा गर्ने घोषणा गरेका हुन्।

प्रधानमन्त्री ओलीले सबैको बलियो एकतामा मात्रै कोरोना भाइरसविरुद्धको लडाइँ जितिने बताएका छन्। उनले शुभकामना सन्देशमा भनेका छन्, ‘मैले पटकपटक भन्दै आएको छु, यो युद्ध सबैको बलियो एकतामा जितिने युद्ध हो। विश्वव्यापी यस संकटको समाधान विश्वव्यापी प्रयास, साझेदारी र सहयोगबाट मात्र सम्भव छ।’

त्यस्तै आवश्यक पर्दा ‘हुनेको गास काटेर, नहुनेलाई बचाउने’ नेपाली परम्परा भएको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले भनेका छन्, मुलुकको कार्यकारी प्रमुखका हैसियतले कोरोना महामारी समाप्त नभएसम्म मैले आफ्‍नो पारिश्रमिक ‘कोभिड–१९, प्रधानमन्त्री राहत कोष’मा जम्मा गर्ने निर्णय गरेको छु।’ प्रधानमन्त्री ओलीले मासिक ९१ हजार एक सय नब्बे रुपैयाँ पारिश्रमिक पाउँछन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *