कसलाई कति प्रोत्साहन भत्ता ?

समाचार

काठमाडौँ — सरकारले कोभिड–१९ को संक्रमण नियन्त्रण, उपचार, रोकथाम र लकडाउनलाई प्रभावकारी बनाउन मुलुकभर खटिएका चिकित्सक, नर्स, स्वास्थ्यका प्राविधिक, कर्मचारीदेखि सुरक्षाकर्मीसम्मलाई प्रोत्साहन भत्ता दिने भएको छ । मन्त्रिपरिषद्ले सोमबार परिचालित सबै स्वास्थ्यकर्मी, कर्मचारी र सुरक्षाकर्मीलाई प्रोत्साहन गर्न जोखिम अवधिभर भत्ता दिने निर्णय गरेको हो।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका अधिकारीका अनुसार जोखिममा परिचालित स्वास्थ्यकर्मी, कर्मचारी र सुरक्षाकर्मीका लागि प्रोत्साहन भत्तामा मासिक १० अर्ब रुपैयाँ खर्च हुने अनुमान गरिएको छ। विवरण देशभरबाट सिफारिस भएर आएपछि मात्र यस्तो प्रोत्साहन भत्तामा कति खर्च हुन्छ भनेर यकिन भन्न सकिने अर्थ मन्त्रालयका अधिकारीले बताए।

मन्त्रिपरिषद् कार्यालयका ती अधिकारीका अनुसार अग्रपंक्तिमा रहेर कोभिड–१९ बाट संक्रमित तथा आशंकित र आइसोलेसनमा रहेका बिरामीको उपचारमा खटिने चिकित्सक, स्वास्थ्यकर्मी र नर्सले शतप्रतिशत प्रोत्साहन भत्ता पाउनेछन्। अर्थात् उनीहरूले तलब बराबर नै थप भत्ता पाउनेछन्।

दोस्रो पंक्तिमा रहेर पहिलो पंक्तिका चिकित्सक, स्वास्थ्यकर्मी र नर्सलाई सहयोग पुर्‍याउने र प्रयोगशालामा काम गर्ने स्वास्थ्यका प्राविधिक कर्मचारीले तलबको ७५ प्रतिशत प्रोत्साहन भत्ता पाउनेछन्। पहिलो र दोस्रो पंक्तिमा रहेर काम गर्ने चिकित्सक, नर्स तथा स्वास्थ्यका प्राविधिक कर्मचारीलाई सहयोग पुर्‍याउने सबै सरकारी अस्पताल र स्वास्थ्य संस्थाका कर्मचारी (तेस्रो पंक्ति) ले तलबको ५० प्रतिशत प्रोत्साहन भत्ता पाउनेछन्।

करारमा कार्यरत चिकित्सक, नर्ससहितका स्वास्थ्यकर्मी, ल्याब र प्रयोगशालाका प्राविधिक तथा सहायक कर्मचारी तथा कार्यालय सहयोगीले समेत यस्तो प्रोत्साहन भत्ता पाउनेछन्

सरकारले स्वास्थ्य स्वयंसेविकालाई मासिक १५ सय रुपैयाँ प्रोत्साहन भत्ता दिने निर्णय गरेको छ। मुलुकभर ७ सय ५३ स्थानीय तहमा कार्यरत स्वास्थ्य स्वयंसेविकाको संख्या ५० हजार हाराहारी छ। सरकारले ती स्वयंसेविकालाई कोभिड–१९ को सम्भावित संक्रमण रोकथामका लागि जनचेतना फैलाउन र आशंका गरिएका बिरामीलाई अस्पतालमा उपचारका लागि लैजाने व्यवस्था मिलाउने जिम्मेवारी दिएको छ।

मन्त्रिपरिषद्ले कोभिड–१९ को संक्रमण नियन्त्रण, रोकथाम र लकडाउनलाई प्रभावकारी बनाउन खटिएका नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाका सुरक्षाकर्मीलाई समेत प्रोत्साहन भत्ता दिने निर्णय गरेको छ।

अग्रपंक्तिमा रहेर व्यक्तिगत सुरक्षा सामग्री (पीपीई) लगाएर संक्रमित, आशंकित र क्वारेन्टाइनमा राख्ने व्यक्तिलाई समातेर ल्याउने सुरक्षाकर्मीले शतप्रतिशत प्रोत्साहन भत्ता पाउनेछन्। अस्पतालमा रहेका संक्रमित, आइसोलेसनमा रहेका बिरामी तथा क्वारेन्टाइनको सुरक्षार्थ पीपीई गाउन लगाएर अग्रपंक्तिमा खटिएका सुरक्षाकर्मीले समेत शतप्रतिशत भत्ता पाउनेछन्।

संक्रमित, आइसोलेसनमा रहेका र आशंकित बिरामीको सुरक्षार्थ दोस्रो पंक्तिमा रहेर खटिने र पीपीई गाउन लगाउनु नपर्ने सुरक्षाकर्मीलाई भने ५० प्रतिशत प्रोत्साहन भत्ता दिइनेछ। आशंकितलाई पक्राउ गरेर ल्याउन तथा क्वारेन्टाइनको सुरक्षार्थ दोस्रो पंक्तिमा रहेर खटिने सुरक्षाकर्मीले समेत ५० प्रतिशत भत्ता पाउनेछन्।

लकडाउन र सामाजिक दूरीलाई प्रभावकारी बनाउन र उल्लंघन गर्नेलाई नियन्त्रण गर्न तथा जनचेतना फैलाउन देशभरका चोक, सडक तथा बस्तीमा परिचालन हुने तेस्रो पंक्तिका सुरक्षाकर्मीले भने दैनिक ३ सय रुपैयाँ प्रोत्साहन भत्ता पाउनेछन्। सुरक्षाकर्मीहरू पहिलो, दोस्रो र तेस्रो पंक्तिमा रहेर खटिएको विवरण सम्बन्धित युनिट प्रमुखले प्रमाणित गरेर सिफारिस गर्नुपर्ने प्रधानमन्त्री कार्यालयका अधिकारीले बताए।

कर्मचारी सञ्चय कोषले समेत स्वास्थ्यकर्मी र सुरक्षाकर्मीसहित आफ्ना सबै सञ्चयकर्ता कर्मचारीलाई कोभिड–१९ बाट संक्रमित भए १० लाख रुपैयाँसम्मको स्वास्थ्योपचार खर्च बेहोर्ने भएको छ। कोषले कोभिड–१९ लाई समेत ठूला र घातक रोगको सूचीमा राखी सञ्चयकर्तालाई १०/१० लाख रुपैयाँसम्मको स्वास्थ्य बिमा गरेको जानकारी अर्थ मन्त्रालयका अधिकारीले दिएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *