कञ्चनपुरका आधा बेड खाली : दुई सय दश जना मात्रै क्वारेन्टाइनमा

समाचार

माेहन विष्ट/कञ्चनपुर – कोरोना भाइरसको संक्रमण रोकथाम गर्नका लागि हालसम्म कञ्चनपुरमा चार सय २६ बेडका क्वारेन्टाइन निर्माण गरिएका छन् । ९ वटै स्थानीय तहले निर्माण गरेका क्वारेन्टाइनमा विदेशबाट फर्किएका दुई सय दश जना मात्रै बस्दै आएका छन् ।

दुई सय १६ बेड खाली  छ यस्तै कुल १९ आइसोलेसन बेडमा पनि काेही बसेका छैनन् । महाकाली अस्पतालमा ८, बेदकोट नगरपालिका ६ र बेलौरी नगरपालिकामा ५ बेडको आईसोलेट निर्माण गरिएका छन् ।

कञ्चनपुरमा हालसम्म ३९ जनाको नमुना लिइएको छ । जसमध्ये एक जनामा पोजेटिभ देखियो । २१ जनाको नेगेटिभ आएको छ । १७ जनाको आउन बाँकी छ । बेदकोटको क्वारेन्टाइनबाट ११जना मध्ये सोही नगरपालिका १० का ४१ वर्षीया युवकमा कोरोना भेटिएको पृष्टी भएको छ । बाँकी १० जनाको नेगेटिभ रिपाेर्ट आएको छ । १४ चैत्रमा क्वारेन्टाक्इनमा राखिएका ११ मध्ये भेटिएका संक्रमितको सेती प्रादेशिक अस्पताल र बाँकी १० जना क्वारेन्टाइनमै छन् ।

प्रायजसो भारतबाट र तेस्रो मुलुकबाट ५ हजार ४ सय २२ नागरिक भित्रिएपनि २ सय १० जना मात्रै क्वारेन्टाइनमा बसेपछि नागरिकले संक्रमण फैलिने चिन्ता व्यक्त गरेका छन् । ५ हजार २ सय १२ जना घरमै रहेको दाबी गरिएपनि उनीहरुलाई समेत क्वारेन्टाइनमा राख्नुपर्ने माग अघि सारेका छन् ।

कञ्चनपुरका स्थानीय महिला अगुवा नारु सिंहले भारतलगायत तेस्रो मुलुकबाट आएका व्यक्तिलाई अनिवार्य क्वारेन्टाइनमा राख्नुपर्ने बताइन् ।

भीमदत्त नगरमा एक हजार १६, महाकाली नगरमा ५ सय ९४, बेदकोट नगरमा ७ सय ९७, शुक्लाफाँटा नगरमा ७ सय ६१, कृष्णपुर नगरमा ८ सय ६१, पुनर्वास नगरमा ७ सय ४८, बेलौरी २ सय ८३, बेलडाँडी २ सय ५८ र लालझाडीमा १ सय ३४ जना स्वदेश भित्रिएका थिए । अधिकांस भारत, कतार, यूएई, दुबईबाट भित्रिएका हुन् ।

लालझाडी गाउँपालिका प्रमुख मदन सेन बडायकले भारत लगायत विदेशबाट आएका सम्वेदनशिल व्यक्तिलाई क्वारेन्टाइनमा राखिएको बताए । ‘हामीले केहीलाई क्वारेन्टाइनमा राखेका छौँ, ‘उनले भने, ‘अरु सबै होम क्वारेन्टाइनमा राखिएका छन, हामीले नियमित अनुगमन गरिरहेका छौँ ।’

गड्डाचौकी सहितका कञ्चनपुरका विभिन्न खुला नाकाबाट महिनादिनको अवधिमा ७५ हजार बढीले स्वदेश प्रवेश गरेका थिए । भारतमा समेत कोरना संक्रमण देखिएपछि नेपाल प्रवेश गर्ने सबैलाई क्वारेन्टाइनमा राखेर स्वास्थ्य परीक्षणको माग अघि सारिएको छ ।

कोरना न्यूनिकरणका लागि दुवै देश नेपाल भारतमा लकडाउन गरिएपनि कञ्चनपुरकै सीमा क्षेत्रमा पर्ने भारतमा २ सय ३८ जनालाई उतैै क्वारेन्टाइनमा राखिएको छ ।  लकडाउन प्रभावकारी बनाउन कञ्चनपुरको सीमा क्षेत्रमा उच्च सुरक्षा सर्तकता अपनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *