सुदूरपश्चिम क्षेत्रमा भारतसँग जोडिएको खुला सीमाको फाइदा लिँदै अझै लुकीछिपी नेपाल आउनेक्रम रोकिएको छैन । लकडाउन र सीमानाका बन्द गरिएको भए पनि सबैभन्दा बढी दार्चुला क्षेत्रबाट नेपाली लुकेर आउने गरेका छन् ।फाटफुट्ट रूपमा कैलाली, कञ्चनपुर, बैतडी र डडेलधुराका सुरक्षा नभएका ठाउँबाट नेपाल आउनेक्रम चलिरहेको छ ।
नेपाल सरकारले देशभरि लकडाउन, सीमा बन्द गर्नुका साथै एक स्थानीय तहबाट अर्को स्थानीय तहको आवतजावतमा समेत कडाइ गर्ने निर्णय गरेको बेला भारतबाट चोरबाटो हुँदै दार्चुला भित्रिनेक्रम रोकिएको छैन । प्रहरीको तथ्याङ्कअनुसार चैत १७ गतेदेखि व्यास, खलङ्गा, जौलजिबी, लालीलगायत स्थानबाट महाकाली तरेर ८५ जना नेपाली मजदुर भारतबाट दार्चुला आएका छन् ।
आइतबारमात्रै लालीबाट बैतडीको दोगडाकेदार गाउँपालिका–१ रिमका चारजना चार हजार रुपियाँ तिरेर ट्युबबाट महाकाली तर्दै लेकम गाउँपालिका हुँदै गाउँ फर्किएका छन् ।
प्रहरीको सम्पर्कमा नआएर दैनिक सयौँ मानिस भारतको उत्तराखण्डबाट गाउँ फर्किरहेका छन् । उत्तराखण्डमा पनि कोरोना सङ्क्रमण देखापरेको छ । यस्तो अवस्थामा पनि नेपाली नेपाल आउनु जोखिम हुने भन्दै स्थानीयहरू चिन्तित छन् । दार्चुलामा झन्डै एक हजार पाँच सयजना भारतबाट घर फर्किएकोमा २१५ जनामात्रै क्वारेन्टाइनमा बसेका छन् ।

