स्वास्थ्य सामग्री खरिदमा भ्रष्टाचार गरेको भन्दै स्वास्थ्यमन्त्री ढकालविरुद्ध अख्तियारमा उजुरी

समाचार

स्वास्थ्य सामग्री खरिदमा भ्रष्टाचार गरेको भन्दै स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ । विवेकशील नेपाली दलका नेता रमेश पौड्यालले बुधबार मन्त्री ढकालविरुद्ध अख्तियारमा उजुरी दर्ता गराएका हुन् ।

उजुरीमा उनले बजार दरभन्दा चार गुणासम्म महँगो पर्ने गरी मेडिकल सामग्री खरिद गरिएको देखिएकाले छानबिनको माग गरेका छन् । यसबारे सञ्चारमाध्यममा प्रश्न उठेको र यसले आमनागरिकमा पनि प्रश्न उठाएकाले मन्त्री र प्रधानमन्त्रीबाट जवाफ दिन नपर्ने भन्ने अभिव्यक्ति आउँदा थप शंका उब्जिएको देखिएकाले छानबिन गर्नुपर्ने भनिएको छ ।

विश्व स्वास्थ्य संगठनले सिफारिस नगरेका र भर पर्न नसकिने भन्दै विभिन्न मुलुकमा आलोचना भएका र्‍यापिड टेस्टिङ किट सात करोडभन्दा बढीको लागतमा किनेको कुरा सञ्चारमाध्यममा आएकाले यी विषय छानबिनको विषय भएकाले अख्तियारमा उजुरी दर्ता गरेको विवेकशील नेपाली दलले जनाएको छ ।

यी विषयलाई मुख्य विषय बनाएर स्वास्थ्यमन्त्री ढकालविरुद्ध उक्त दलका नेता पौड्यालले अख्तियारको वेबसाइटमार्फत उजुरी दिएका हुन् ।स्वास्थ्य सामग्री खरिदमा अनियमितता भएको भन्नेबारे आफूले जवाफ दिन आवश्यक नरहेको मन्त्री ढकालले केही दिनअघि अभिव्यक्ति दिएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *