परराष्ट्रमन्त्री विवादमा

Uncategorized

 सरकारको आलोचना गर्नेहरूलाई ‘गिद्ध र कुकुर’को संज्ञा दिएपछि परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली विवादमा परेका छन्। मन्त्री ज्ञवालीले सरकारी सञ्चारमाध्यममा दिएको एक अन्तर्वार्तामा ‘गिद्धहरूले फूलतिर हेर्दैनन्, सिनो मात्र हेर्छन्’ भनेका छन्।

सरकारको विरोध गर्नेलाई ‘सिनो खाने गिद्ध’को प्रतीक बनाएपछि उनी विवादमा तानिएका हुन्। नेकपा विदेश विभाग उपप्रमुख राम कार्कीले सरकारको कार्यशैली र व्यवहारप्रति सधैंजसो ‘रिजर्भेसन’ रहेको बताए। परराष्ट्रमन्त्रीको अभिव्यक्तिबारे सिधै टिप्पणी नगरे पनि उनले सम्बन्धित मन्त्रीहरूले प्रस्ट पार्नुपर्ने विषयमा आफैंले असहज अभिव्यक्ति दिनु राम्रो नभएको उल्लेख गरे।

‘यो बेला धेरै आलोचना गर्नु मनासिब नहोला। काम गर्ने बेला यसो गर्‍यो, उसो गर्‍यो भन्ने पर्ला। सरकारको पर्फमेन्स पहिलेदेखि नै शंकाको घेरामा पर्दैँ आएको छ’, उनले भने, ‘काम गराइ हाप्पाहापी (आफूखुसी) गर्ने खालको देखिएको छ। पार्टीले सरकार चलाउन सकेको छैन। त्यही कमजोरी अहिले देखापरेको हो। शंका र प्रश्न उठाएपछि त्यसलाई सरकारले प्रस्ट पार्नुपर्छ।’

उनले स्वास्थ्य उपकरण खरिद प्रकरणमा करदाताले शंका गरेपछि र प्रश्न उठेपछि सरकार र सम्बन्धित मन्त्रीहरूले प्रस्ट पार्नु अपरिहार्य रहेको बताए। ‘चीन धेरै टाढा छैन, त्यहाँ कैयौं नेपाली व्यापारी नै छन्। मिलाएर बुझ्दा हुन्छ’, उनले भने, ‘कोरोनाले गरिब–धनी केही भनेको छैन। यस्तो अवस्थामा ध्यान दिएर अघि बढ्न आवश्यक छ।’ मन्त्रीको अभिव्यक्तिलाई लिएर सामाजिक सञ्जालमा बहस भइरहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *