कञ्चनपुरमा अहिलेसम्म तीन सय ४० बेडका क्वारेन्टाइन निर्माण गरिएका छन् । तर, स्थानीय तहले निर्माण गरेको क्वारेन्टाइनमा भने अहिले ३८ जना मात्रै बसेका छन् । जिल्ला सदरमुकामस्थित भीमदत्त नगरले एक सय, महाकाली नगरले १०, वेदकोट नगरले ६४, कृष्णपुर नगरले ३०, पुनर्वास नगरले ५०, बेलौरी नगरले ४५, लालझाडी गाउँपालिकाले १८ र बेलडाँडी गाउँपालिकाले २३ बेडको क्वारेन्टाइन निर्माण गरेका छन् । शुक्लाफाँटा नगरपालिकाले भने क्वारेन्टाइन निर्माण गरेको छैन ।
जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले मंगलबार जारी गरेको तथ्यांकअनुसार नौवटै स्थानीय तहमा निर्माण भएका क्वारेन्टाइनमा ३८ जना मात्रै बसेका छन् । जसअनुसार वेदकोटमा ११, पुनर्वासमा पाँच, बेलौरीमा तीन, लालझाडीमा १० र बेलडाँडीमा नाैजना बसेका छन् । सबैभन्दा बढी एक सय बेड निर्माण गरेको भीमदत्त र कृष्णपुरमा एकजना पनि भर्ना भएका छैनन् ।
जिल्लामा ३१ बेडको आइसोलेसन निर्माण गरिएकोमा भीमदत्त नगरपालिका– १८ स्थित महाकाली अस्पतालमा आठ बेड, शुक्लाफाँटा नगरपालिकामा १२, बेलौरी नगरपालिकामा पाँच र वेदकोट नगरपालिकामा ६ बेडको आइसोलेसन छन् । महाकाली अस्पतालबाहेकका आइसोलेसनमा बिरामी भने भर्ना गरिएका छैनन् ।
महाकाली अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट हरिकुमार श्रेष्ठले कोरोनाको शंका गरिएका नौजनामध्ये चारजनाको रिपोर्ट नेगेभिट आएको र उनीहरू घर गइसकेको बताए । अन्यको भने रिपोर्ट आउन बाँकी रहेको उनले बताए । रिपोर्ट आउन बाँकी दुईजना महाकाली अस्पतालको आइसोलेसनमा भर्ना गरिएका छन् भने तीनजनाको होम क्वारेन्टाइनमा उपचार भइरहेको छ ।
अधिकांश होम क्वारेन्टाइनमा
कञ्चनपुरमा पछिल्लो दुई साताभित्र कतार, मलेसिया, साउदी अरब, दुबई, जर्मनी र भारतबाट गरी चार हजार दुई सय ८२ जना आएका छन् । उनीहरूमध्ये आठजनामा ज्वरो, रुघाखोकी, श्वासप्रावासको समस्या देखिएको छ । पुनर्वासका तीनजनामा ज्वरो, तीनजनामा रुघाखोकी र एकजनामा श्वासप्रश्वासको समस्या देखिएको हो ।
भारतलगायतका तेस्रो मुलुकबाट आएका बेलडाँडीका दुई सय ४८, लालझाडीका एक सय ३४, बेलौरीका दुई सय ३०, पुनर्वासका सात सय ३०, कृष्णपुरका आठ सय १९, शुक्लाफाँटाका सात सय ४९, वेदकोटका सात सय ५५, भीमदत्तका दुई सय ५७ र महाकाली नगरका तीन सय ६० जनाको विवरण संकलन गरिएको छ ।
विदेशबाट आएकाहरू सबैजसो होम क्वारेन्टाइनमै बसेकाले स्थानीय तहहरूले निर्माण गरेको क्वारेन्टाइन खाली देखिएको वेदकोट नगरका मेयर अशोककुमार चन्दले बताए । उनले भने, ‘होम क्वारेन्टाइनमा बस्न समस्या भएकाहरू मात्र स्थानीय तहहरूले निर्माण गरेको क्वारेन्टाइनमा बसेका छन् ।’
###नयाँ पत्रिका

