धनगढी : काठमाडौँ उपत्यकाबाहिर पहिलोपटक सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी धनगढीमा ३४ बर्षिय पुरुषलाई कोरोनाको संक्रमण फेला परेको छ। उनी युएईको दुबैईबाट भारतको राजधानी दिल्ली हुँदै काठमाडौ पुगेका थिए भने काठमाडौँबाट नेपालगञ्ज हुँदै सार्वजनिक सवारी मार्फत धनगढी पुगेका थिए। ७ गते काठमाडौँ पुगेका उनी ८ गते धनगढी पुगे भने ११ गते सम्म उनले धेरैसंग भेटघाट गरेको स्थानीय प्रशासनले जनाएको छ।
नेपाल पुगेपछिको पाँचौ दिनपछि मात्रै सेती प्रादेशिक अस्पतालको आईसोलेसमा भर्ना भएका थिए। पाँच दिनको अवधीमा उनले परिवारका सदस्य र आफन्तसंग भेटघाट गरेका थिए। जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरिक्षक दक्षकुमार बस्नेतले भने, ‘कोरोना संक्रमित धनगढीका व्यक्तिले धेरैलाई भेटेको पाइएको छ। सबैको खोजी भईरहेको छ।’
‘उनी दिल्लीबाट काठमाडौँ पुगको दिन मामा घर बसेका रहेछन्। दोश्रो दिन पनि उनको काठमाडौँ, नेपालगञ्ज हुँदै धनगढी पुग्दा यात्रामै वितेको रहेछ, प्रहरी नायव उपरिक्षक बस्नेतले भने, ‘९ र १० गते धेरै जनासंग भेट भएको हुनसक्छ।’
संक्रमित व्यक्तिका पारिवारीक सदस्यमै एक जना प्रहरी कर्मचारी समेत भएकाले जिल्ला प्रहरी कार्यालयमा कार्यरत प्रहरी कर्मचारी पनि त्रसित बनेका छन्।
परिवारका ८ जना सदस्य, संक्रमतिलाई अस्पतालमा भर्ना गर्ने थप एक जना र संक्रमितको सम्पर्कमा रहेका अन्यको समेत खोजी गरी निगरानीमा राख्ने तयारीमा स्थानीय प्रशासन छ। परिवारका ८ जना सदस्यलाई भने अहिले अस्पताल ल्याउने तयारी भईरहेको छ। उनलाई अस्पताल ल्याउने व्यक्ति भने अझै सम्पर्कमा आएका छैनन्।

