अर्थमन्त्री डा. युवराज खतिवडाले कोरोना भाइरस संक्रमणको त्रासबाट अर्थतन्त्रमा पुग्ने क्षतिमा सघाउन अन्तर्राष्ट्रिय वित्तीय संस्थालाई आग्रह गरेका छन् । कोरोना महामारीको असरबाट पुग्ने क्षतिलाई पूर्ति गर्न नेपालजस्ता कम क्षमता र स्रोत भएका मुलुकका लागि अन्तर्राष्ट्रिय वित्तीय संस्थाहरूको विशेष सहयोग आवश्यक पर्ने अर्थमन्त्र्रीले बताएका हुन् ।
दक्षिण एसियाली राष्ट्रहरूका अर्थमन्त्री, अन्य सरकारी अधिकारी, अन्तर्राष्ट्रिय मुद्रा कोष, विश्व बैंकलगायत अन्य अन्तर्राष्ट्रिय वित्तीय संस्थाका पदाधिकारीबीच कोरोना भाइरसले अर्थतन्त्रमा पारेको असरसम्बन्धी भएको छलफलमा अर्थमन्त्री खतिवडाले सहयोगको आवश्यकता औँल्याएका हुन् ।
भिडियो कन्फरेन्समार्फत भएको छलफलमा उनले अन्तर्राष्ट्रिय वित्तीय संस्थाको सहयोग तथा क्षेत्रीय सहयोगका सम्भावित सबै संयन्त्र उपयोग गर्नुपर्ने बताएका हुन् ।

