विश्वभर महामारीको रुप लिएको कोभिड–१९ को सङ्क्रमणबाट शनिबारसम्म ११ हजार ४१७ जनाको मृत्यु भएको छ । विश्व स्वास्थ्य सङ्गठनले सार्वजनिक गरेको विवरणअनुसार संसारभर दुई लाख ७६ हजार व्यक्ति कोरोना भाइरस सङ्क्रमित भएका छन् ।
सङ्क्रमित व्यक्तिमध्ये ९१ हजार ९५४ जना उपचारपछि घर फर्किएका छन् । एक लाख ७३ हजार व्यक्ति हाल सङ्क्रमित रहेका छन् । कोभिड–१९ को सङ्क्रमण हालसम्म १७६ भन्दा बढी देशमा देखा परिसकेको छ । चीनको हुबेइ प्रान्तको वुहान शहरबाट सुरु भएको कोभिड–१९ लाई विश्व स्वास्थ्य सङ्गठनले ‘विश्वव्यापी महामारी’को सङ्ज्ञा दिएको छ ।
कोरोनाभाइरस सङ्क्रमणबाट चीनभरी तीन हजार २५५ व्यक्तिको मृत्यु भएको छ भने ८१ हजार जना सङ्क्रमित भएका थिए । चीनले अपनाएको उच्चतम सतर्कता, हुबे प्रान्तको राजधानी उहान सहित प्रान्तभर आवतजावतमा गरिएको प्रतिबन्ध, तत्काल उपचार समेतका आपतकालीन व्यवस्थाले संक्रमित व्यक्तिको मृत्युदर कम रहेको मानिएको छ ।
हाल कोरोनाभाइरसका कारण अत्यन्त प्रभावित इटालीमा चार हजार ३२ जनाको मृत्यु भइसकेको छ । हाल ३७ हजार ८६० जना सङक्रमित रहेको इटालीमा पाँच हजार १२९ व्यक्ति उपचारपछि घर फर्किएका छन् ।

